मदिरा  पिएर सेवाग्राहीलाई गाली गर्ने वडाध्यक्ष कार्यकक्षबाटै समातिए

 

काँकडभिट्टा, चैत १५  । मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।

पटकपटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै बुधबार पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए।

बुधबार कार्यालयमा आएका सेवाग्राहीसँग उनले अभद्र व्यवहार गरी गाली गरेका थिए।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो। उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका हुन्।