माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउन नगरपालिका सक्रिय

चितवन, १३ चैत । माडी क्षेत्रलाई पर्यटनको ‘हब’ बनाउने भन्दै माडी नगरपालिकाले सक्रियता देखाएको छ ।
यो वर्षमात्रै पर्यटन विकासमा नगरपालिकाले झण्डै ८० लाख खर्चिने तयारी गरेको छ ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले माडीलाई धार्मिक तथा बाह्य पर्यटनको हब बनाउन लागिपरेका बताएका छन् उनले निकुञ्जसँग जोडिएका पर्यटकीय गन्तव्यलाई केन्द्रित गरेर माडीको सौन्दर्य हेर्न आउने वातावरण बनाउने समेत दाबी गरे ।

उनले माडीमा यो वर्ष ३२ वटा नयाँ होमस्टे सञ्चालनमा ल्याउने तयारी भएको बताए । वनकट्टा, बसन्तपुर, शिवद्वार तथा राइटोलमा पर्यटकलाई लक्षित गरी होमस्टे खेलिने उनले बताए । यसअघि नै माडीको पाण्डवनगर र शिवद्वारमा केही होमस्टे सञ्चालनमा थिए ।

माडीका मुख्य ९ वटा गन्तव्यलाई पर्यटकको रोजाइँका क्षेत्र बनाउन नगरपालिकाले विशेष ध्यान दिएको उनले बताए । वाल्मीकि आश्रम, परशुरामकुण्ड, सोमेश्वरगढी, कम्युनिष्ट पार्टीको चौथो एकता महाधिवेशन स्थलमा बनेको एकता स्तम्भ, शहीदपार्क, बैकुण्ठ ताल, वनकट्टामा निर्माण हुन लागेको वृहत घाँसखेती परियोजना र माछा जोन हेर्न माडी आउने पर्यटकको चहलपहल बढाउन आवश्यक पूर्वाधार विकासमा नगरपालिकाले ध्यान दिएको उनले बताए ।

उनका अनुसार पर्यटनतर्फ नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेपनि आन्तरिक स्रोत मार्फत पनि पर्यटन पूर्वाधारमा खर्च गरेको बताए । नगर पर्यटन समिति माडीका अध्यक्ष नारायण पौडेलले माडीको पर्यटन प्रर्वद्धन गर्न सबै गन्तव्यलाइ जोड्ने गरी ट्रयाक खोल्न पहल भैरहेको बताए ।
पौडेलले ओझेलमा परेको माडीको पर्यटनले काँचुली फेर्ने वातावरण बनेको बताए ।