गोकर्णमाथि पेट्रोल छर्केर काण्डमा क्यान्सरका ५ कर्मचारीमाथि अनुसन्धान

चितवन, १३ चैत । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको घटनामा चितवन प्रहरीले अस्पतालमै कार्यरत ५ कर्मचारीमाथि अनुसन्धान थालेको छ । जसमा एक जना डाक्टर समेत रहेका छन् ।
डा कृष्ण सुवेदी, कर्मचारीहरु अशोकबाबु लम्साल, राजन बस्याल, शोभाकान्त बराल र रमेश पौडेलमाथि अनुसन्धान भइरहेको छ । चितवन प्रहरी प्रवत्ता डीएसपी प्रभुप्रसाद ढकालले पीडित सापकोटाले दिएको निवेदन र हुलियाको आधारमा अनुसन्धान भइरहेको जानकारी दिए । किटानी जाहेरी भने कोही विरुद्ध नपरेको उनले बताए ।
चैत ३ गते बिहान नौ बजे अस्पताल नजिकैको माछापुच्छ्रे चोकमा कपाल काटेर पैदलै घर जाने क्रममा आफूमाथि पेटोल छर्कने प्रयास भएको सापकोटाले बताएका थिए । क्यान्सर अस्पतालको पछिल्लो गतिविधि कर्मचारी बढुवा, एटेण्डेण्ड नियुक्ति, नयाँ उपकरण खरिदमा घोटला जस्ता विषय समेटिएको कागज विप्लव निकट माओवादीले घटनास्थलमै छाडेका थिए ।