रत्ननगर नगरपालिका वडा नं.९ मा बजेट थोरै काम धेरै

चितवन, १३ चैत । रत्ननगर नगरपालिका वडा नं.९ ले वडालाई नमुना बनाउन विकासका पूर्वाधार निर्माणलाई जोड दिएको छ ।
वडा कार्यालयले सडक निर्माण तथा स्तर उन्नती, शैक्षिक विकासको लागि विद्यालयको पूर्वाधार निर्माण,मठ मन्दिर निर्माण, सिंचाईको पूर्वाधार निर्माण संगै स्थानीय समुदायको आयआर्जनको लागि सीप मुलक कार्यक्रम तथा सुशासन निर्माणलाई जोड दिएर काम गरिरहेको छ ।
सो वडा कार्यालयले थोरै बजेटको सही सदुपयोग गरी आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । मुलधारका सडकमा कालोपत्रे तथा ग्रामिण सडकहरुलाई उच्च ग्रवेल गर्ने काम भईरहेको कार्यबहाक वडा अध्यक्ष सरस्वती लामाले जानकारी दिईन । ६० प्रतिशत वडाको बजेट र ४० प्रतिशत जनश्रमदानको सहभागितामा काम भईरहेको लामाले बताईन ।
सडकको अभावले पछाडि परेका ग्रामिण तथा सुकुमवासी बस्तीमा उच्च ग्रावेल गरिएको छ । वडा कार्यालयले कपरखोरीमा ७ सय मिटर सडक कालोपत्रे गरेको छ ।

वडाको सात लाखको लगानीमा सो सडक कलोपत्रे गरिएको कार्यबहाक वडा अध्यक्ष लामाले बताईन ।
त्यसैगरी गणेशचोकबाट लालपर्सा जाने सडकको बीचमा रहेको सिसै ढिकुवामा २०० मिटर सडक कालोपत्रे गरिएको छ । वडाको डेढ लाख र स्थानीयले अधिकत जनसहभागिता जुटाई सो सडक खण्ड कालोपत्रे गरेका हुन ।
कपरफोरीमै ७० हजारको लगानीमा ८ सय मिटर भित्री सडक र झोलुङपुल छेउको शितल मार्ग मा ८०० मिटर सडक ग्रावेल गरिएको लामाले बताईन । त्यसैगरी सिसैमा रहेको सिद्धेश्वर महादेव मन्दिरमा सत्तल निर्माण र भानु टोलमा निर्माण भईरहेको अर्को एक मन्दिरलाई ५० हजार रुपैया सहयोग गरिएको वडा सचिव खगनाथ पराजुलीले जानकारी दिए ।
वडा नं.९ भएर बग्ने पञ्चकन्या नहरमा दुई वटा मझौला पुल निर्माण गरिएको वडा सचिव पराजुलीले जानकारी दिए ।
सिसै देखि बेलटाँडी हुदै लालपर्सा सम्मको सडक खण्ड कालोपत्रे गर्न करिव ३६ लाख रुपैया अनुमानित गरी सम्झौता गरी काम सुरु गरिएको छ भने सोही वडा अन्तर्गत पर्ने गड्यौली देखि लालपर्सा सम्मको ग्रामिण सडकलाई कालोपत्रे गर्न एक करोड ५ लाख रुपैया विनियोजन गरी सम्झौता गर्ने तयारी गरिएको वडा अध्यक्ष रोशन आचार्यले जानकारी दिए ।
यस अघि वडालाई उज्यालो १० वटा सोलार बत्ती राखिएको र थप सडक बत्तीको लागि विजुलीको पोलमा बत्ती राखिएको वडा अध्यक्ष आचार्यले जानकारी दिए ।
सोमवार वडामा भएको विकास निर्माणको प्रभावकारिताबारे वडा स्तरका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन ।
वडा सदस्यहरु कमानसिं चौधरी,मनबहादुर थापामगर र गायत्री विक सहितको टोलीले पूर्वाधार विकासको लागि भएका कामको अनुगमन गरेका हुन ।