अन्तर्राष्ट्रिय मेला विवादमा, जिल्लाका सरोकारवाला भन्छन्– ‘हामीलाई थाहै छैन’

 

चितवन, १२ चैत । अन्तर्राष्ट्रिय स्तरको महोत्सवको नाममा सञ्चालन गर्न लागिएको मेलाका बिषयमा जिल्लाका सरोकारवालाले आफूहरुलाई थाहै नभएको बताएका छन् । मेलाका बिषयमा विवाद बढ्दै गएपछि महानगरले आइतबार आयोजकसँग छलफल गरेको थियो ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले मेला आयोजना हुनु राम्रो पक्ष भएपनि जिल्लाका सरोकारवालाहरुसँग आयोजकले समन्वय नगरेको बताउनु भयो । ‘हँुदैछ भन्ने सुनेका छौं, त्योभन्दा बढी केही थाहा छैन’ उहाँले भन्नुभयो, ‘मेला आयोजना गरेपछि असफल भएमा मेलाप्रतिको आकर्षण घट्ने भएकोले आयोजकले समयमै ध्यान दिनुपर्छ ।’
बिहानी इन्टरनेशनल इभेन्ट्स एण्ड मार्केटिङ्ग एजेन्सी आयोजक रहेको मेलामा सांस्कृतिक र पर्यटन प्रवद्र्धन भनेको छ । तर जिल्लाका पर्यटन व्यवसायी र पर्यटनसँग सम्बन्धित संघसंस्थासँग समेत सहकार्य गरेको छैन । चितवन जिल्ला पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले मेलाका बिषयमा आफूहरुलाई केही थाहा नभएको बताउनु भयो । ‘समितिका अध्यक्ष दिलिप मैनालीको नाम जोडेर प्रचार गरिएपछि हटाउन लगायौं’ उहाँले भन्नुभयो, ‘पर्यटन जोडिएको मेला तर हामीलाई नै थाहा छैन ।’
क्षेत्रीय होटल संघ चितवन लगायत जिल्लाका पर्यटनसँग सम्बन्धित कुनै पनि संस्थासँग सहकार्य नभएको बताउँदै उहाँले बजारमा आइरहेका विज्ञापन र प्रचार हेर्दा सेवामुलकभन्दा पनि नाफामुलक हिसाबले गर्न खोजेजस्तो देखिएको बताउनु भयो ।
जिल्लामा हुने महत्वपूर्ण मेला महोत्सवको सांस्कृतिक संयोजन गर्दै आएको नारायणी कला मन्दिर परिवारलाई समेत यो बिषयमा जानकारी छैन । नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रधानले आफूहरुलाई यो मेलाको बिषयमा जानकारी नभएको बताउनु भयो । ‘विज्ञापन र प्रचार देखेका छौं’ उहाँले भन्नुभयो, ‘आयोजकले हामीसँग कुनै समन्वय र सहकार्य गरेको छैन ।’ अन्तर्राष्टिय स्तरको मेला भन्ने तर जिल्लामा कसैलाई थाहा नहुने यो दुःखको बिषय भएको उहाँले बताउनु भयो ।
चितवनमा अन्तर्राष्टिय सांस्कृतिक एवम् पर्यटन मेलामा जिल्लाका पर्यटन व्यवसायी पर्यटन समिति र कला संस्कृतिसँग जोडिएका विभिन्न संघसंस्थासँग समेत समन्वय नहुनुले थप शंका पैदा भएको छ । आयोजकले जिल्लाका सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्न आवश्यक देखिएको छ ।
आयोजक संस्थाले नारायणी नदी किनारमा मेलाका लागि आवश्यक पर्ने स्टल जडान कार्य आइतबार पनि गर्न सकेन । शनिबार नदी किनारमा स्टल राख्ने सामग्री पुगेपनि स्थानीयको विरोधका कारण लगिएको सामग्री त्यसै राखिएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्वर १ का अध्यक्ष जयराम श्रेष्ठले यो मेलाको बिषयमा आफूलाई केही थाहा नभएको बताउँदै महानगरमा छलफल हुने बताउनु भयो ।
उद्योग वाणिज्य संघ चितवनले समेत महोत्सवमा खेलसहितको बाल उद्यान राख्न छोडेको अवस्थामा यस्ता मेलाले बाल उद्यान राख्ने भन्ने सुन्नमा आएकोले यो हुन नसक्ने उहाँले बताउनु भयो । उद्योग संघको प्रदर्शनी केन्द्रमा यस्ता महोत्सव गर्न सके राम्रो हुने उहाँले बताउनु भयो ।
मेला आयोजक विवादित अवस्थामा पुगेपछि यसअघि नै प्रशासनसँग माफी माग्दै अनुमति नलिई सहयोगी संस्थाको नाम राखेकोमा हटाइएको थियो । जिल्लाका राजनैतिक दलका नेताले आफूहरुलाई जानकारी नै नदिई नाम राखेर प्रचार गरेकोमा आपत्ति जनाएपछि सवैको नाम हटाइएको छ । पर्यटन व्यवसायीहरुको नाम समेत जोडिएको थियो, तर पछि हटाइयो ।
यो बिषयमा ड्रिम्स दैनिकले नियमितरुपमा समाचार प्रकाशित गर्दै आएपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ । महोेत्सव आयोजक विवादमा तानिँदै गएपछि भरतपुर महानगरपालिकाले आयोजकलाई छलफलका लागि बोलाएको हो । मेला आयोजकको विश्वसनियता, क्षमता र मेला सफल बनाउने आधारका बिषयमा ख्याल गरी प्रशासनले समयमै ख्याल राख्न सरोकारवालाले सुझाव दिएका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले मेला आयोजना हुनु राम्रो पक्ष भएपनि आयोजकले सबैसँग समन्वय नगरेको गुनासो बढ्दै गएको बताउनु भयो ।

संघले विगतमा गरेका महोत्सव सम्पन्न हुने बेलासम्मको मेहनत समन्वय र सहकार्यमा बित्ने गरेको स्मरण गर्दै उहाँले अहिले गर्ने भनिएको मेलाको तयारी हेर्दा सफल हुनेमा शंका रहेको बताउनु भयो ।
आयोजकले चितवनमा रहेका दुई बालगृहमा रहेका बालबालिकालाई सहयोग गर्ने भन्दै मेलाको आयोजना गरिएको बताएको छ । अभिभावकविहीन बालबालिकालाई सहयोग गर्ने उद्देश्य रहेको भनी प्रचार सुरु गरेपछि थप शंका पैदा भएको छ । अहिलेसम्म कहाँ कुन बालगृहका कस्ता कति बालबालिकालाई सहयोग गर्ने भन्ने औपचारिक जानकारी समेत दिइएको छैन ।

महोत्सवको सहयोगी संस्थाको रुपमा अनुमति नै नलिई जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, कृषि विकास कार्यालयलाई राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले तत्काल बोलाएर सोधेपछि आयोजकले गल्ती भएको भन्दै माफी मागेका थिए । मेलाको प्रचारमा जिल्लाका सांसद लगायत विभिन्न राजनैतिक दलका प्रमुखहरुको नाम समेत राखेर विज्ञापन गरिएको थियो ।
आयोजक संस्थाका अध्यक्ष लक्ष्मीदत्त विष्टले भरतपुर महानगरपालिकाले आफूहरुलाई छलफलका लागि बोलाएको बताउनु भयो । अन्तर्राष्टिय स्तरको मेला आयोजना गर्ने तर जिल्लाकै महत्वपूर्ण निकायसँग किन समन्वय नभएको भन्ने जिज्ञासामा उहाँले कुनै जवाफ दिनु भएन । आयोजकको मौनताले मेला आयोजनालाई झनै रहस्यमय बनाएको छ ।