पोखरामा रामनवमीको आवसरमा शोभायात्रा

पोखरा, ११ चैत्र ।

विश्वहिन्दू महासंघ नेपाल कास्की एवं राममन्दिर सञ्चालक समिति पोखराद्वारा आज यहाँ रामनवमी उत्सव तथा शोभायात्रा आयोजना गरिएको छ ।

‘धार्मिक, सामाजिक, चारित्रिक एवं नैतिकवान् समाजको उत्थान हाम्रो अभियान’ भन्ने नारासहित राममन्दिर बिरौटाबाट शुरु भएको शोभायात्रामा झाँकीसमेत प्रस्तुत गरिएको थियो । गाडीमा सजाएर राखिएका राम, सीता र लक्ष्मणका मूर्ति तथा विभिन्न समूहका झाँकीसहितको शोभायात्रा ड्यामसाइड, राष्ट्र बैंक चोक, रत्नचोक, सिर्जनाचोक, पृथ्वीचोक, नागढुंगा, पोखरा विमानस्थल, मुस्ताङचोक हुँदै पुनः राममन्दिरमा पुगेर समापन भएको थियो । सो अवसरमा महामण्डलेश्वर हेमानन्द गिरीको अभिनन्दन गरिएको थियो ।