बीस वर्ष पुराना सवारी साधन जफत गरिने

काठमाडौँ, २७ फागुन । सरकारले आगामी चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी हटाउन गरेको निर्णय यातायात व्यवसायीले नमान्ने भएका छन् ।

यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ‘जनताको सेवा रोक’ भन्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले फलामको आयु तोक्ने सरकारको निर्णय गलत भएको बताए । ‘सरकारले सरोकार भएका निकायसँग छलफल नै नगरी एकतर्फी रुपमा यो निर्णय गरेकाले जनताको सेवा रोकिँदैन, चैत १ गतेपछि पनि २० वर्ष पुराना सवारी सडकमा गुड्छन्’, उनले भने ।

यातायात व्यवस्था विभागले भने २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको छ । यही फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारीधनीलाई अनुरोध गरिएको महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

दुवै नम्बर बुझाउनेले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्नेछन् । ‘चैत १ गतेदेखि २० वर्ष पुराना सवारी सडकमा गुडे जफत गरी सरकारले ‘रुट इजाजत’ दिँदैन, निर्णय कार्यान्वयन गर्न चैत १ गतेदेखि विभाग सडकमा उत्रन्छ’, उनले भने । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि चैतदेखि हटाउने निर्णय गरिएको हो ।

विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको छ । विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो ।