डीडीसीमा दैनिक ६० हजारको दही चोरी

काठमाडौँ २५ फागुन । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै।

डीडीसी स्रोतका अनुसार लैनचौरस्थित दुग्ध पदार्थ बिक्रीवितरण आयोजना, बालाजुस्थित काठमाडौं दुग्ध वितरण आयोजनासहित विराटनगर, हेटौडा, जनकपुर, बुटबल, नेपालगन्ज र धनगढी आयोजनाबाट दैनिक ठूलो मूल्यबराबरको तयारी दही चोरी हुने गरेको छ। आयोजनाका कर्मचारीले बजारमा पठाउने नाममा कम लगत देखाएर बढी प्याकेट चोरेर लैजाने गरेको तथ्य खुलेको छ।आजको अन्नपूर्णपोष्टमा खबर छ।

स्रोतका अनुसार लैंनचौरको दुग्ध पदार्थ बिक्री रण आयोजनाबाट मात्रै दैनिक रुपमा २० हजारभन्दा बढी मूल्यबराबरको दहीको प्याकेट र जार चोरी हुने गरेको छ। केही दिनअघि कर्मचारीलाई कम लगत देखाएर गाडीमा राखेर बाहिर बढी प्याकेट लगेको डीडीसीको सुरक्षा गार्ड गोपाल निरौलाले फेला पारेका थिए। डीडीसी स्रोतकाअनुसार निरौंलाले उक्त आयोजनामा काम गर्ने एक जना कर्मचारीलाई २८ लिटर दूध लुकाएर आफ्नो गाडीमा लगेको फेला पारेका थिए।