नारायणी नदी सफाईमा सहभागिता बढ्दै

चितवन, २३ फागुन । चितवनको नारायणगढ भएर बग्ने नारायणी नदी मानवीय कारणले प्रदुषित बन्दै गएपछि यहाँका सचेत युवाहरु नदी सरसफाईमा जुटेका छन् । गत हप्तादेखि नदी सफाईमा जुटेका युवाहरुको संख्या यो सोमबार उल्लेख्य रुपमा बढेको नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
आफ्नो घर, टोल सफा गरेमा मात्रै नगर हुँदै समाज र राष्ट्र नै स्वच्छ बनाउने सकिन्छ भन्ने उद्देश्यले युवाहरु सरसफाईमा जुटेका छन् । हरेक सोमबार हुने नदी सफाईमा स्थानीय वे ग्रुप, नेपाल मैत्री समाज, उद्योग वाणिज्य संघ चितवन, टोल विकास संस्था, व्यवसायी, विभिन्न धार्मिक संघसंस्था तथा स्थानीय युवाहरुको सहभागिता रहने गरेको अभियानमा सहभागी चन्दन अग्रवालले बताए । यस अगाडि फाट्ट फुट्ट रुपमा मात्रै नदी सफाई हुने गरेको भएपनि अघिल्लो सोमबारदेखि अभियानकै रुपमा हरेक हप्ता नदी किनार सफाई हुन थालेको हो ।
युवाहरुको सहभागितामा भएको नदी सफाईको लागि फेसबुकले जनसहभागिता जुटाएको नेपाल मैत्री समाजका अध्यक्ष वीरेन्द्र पौडेलले बताए । नदी सफाईको बारेमा फेसबुकमा जानकारी राखेपछि सहभागिता जुट्दै गएको र त्यहाँ सफाई भएको देखेर स्थानीयको समेत सहभागिता हुन थालेको पौडेलको भनाइ थियो । युवाहरुले संकलन गरेको फोहोर संकलन गर्नका लागि भने महानगरपालिकाले ट्याक्टर पठाएर सहयोग गरेको छ ।
नारायणी नदी किनारमा रहेको गौरेश्वर पशुपति नाथको मन्दिरदेखि उद्योग वाणिज्य संघसम्मको करिब सात सय मिटरको क्षेत्रफलमा मात्रै सफाई हुने गरेको भएपनि यसलाई वृहत बनाउँदै नदीलाई स्वच्छ बनाउने अभियानमा लाग्ने युवाहरुको सोच रहेको छ । यो स्थानमा बढी मात्रामा मानवीय चाप रहने भएकाले सबैको ध्यान यता खिचिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताए । यो अभियानलाई विस्तार गर्दै समग्र नदी सफाई गर्ने वातावरणको सिर्जना गर्न स्थानीय सरकार लाग्नुपर्ने प्रधानको भनाइ छ ।