राष्ट्रपतिको उम्मेदवार टुंग्याउन एमालेको बैठक आज बस्दै

काठमाडोँ, २२ फागुन । नेकपा एमालेको स्थायी समिति बैठक आज बस्ने भएको छ ।  निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले त्यसबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो ।

राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता बुधबार गर्नुपर्ने हुन्छ । त्यसका लागि एमालेले आजै राष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ ।

वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् । एमालेको भागमा राष्ट्रपति परेको छ । एमाले स्थायी कमिटीले आज यसबारे ठोस निर्णय गर्ने बताइएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका झलनाथ खनालले पनि राष्ट्रपतिको आकांक्षि देखाएपछि एमालेमा विवाद छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले हालकि राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ दोहोर्याउने संकेतपछि वरिष्ठ नेता माधव नेपालको समूह ओलीसँग रूष्ट छन् ।

आज बस्ने बैठकअघि शीर्ष नेताहरूसँग छलफल गर्ने तयारी ओलीले गरेको छ । राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने पक्षमा रहेका ओली बैठकअगावै सर्वसम्मत चयनको वातावरण बनाउन शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे स्थायी समिति बैठक बस्दैछ ।