विश्वकप क्रिकेट छनौट : जिम्बावेद्वारा नेपाललाई ३८१ रनको लक्ष्य, नेपाललाई अहिलेसम्मकै उच्च लक्ष्य

काठमाडौँ,२० फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेले नेपाललाई  ३ सय ८१ रनको विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोड्यो।

यो लक्ष्य नेपालका लागि अहिलेसम्मकै ठूलो हो। यसअघि सन् २०१३ मा नेपाललाई अमेरिकाले ३ सय ६७ रनको लक्ष्य दिएको थियो। डिभिजन–३ को खेलमा पहिले ब्याटिङ गरेको अमेरिकाले ३ सय ६६ रन जोडेको थियो। जवाफमा नेपालले २ सय ७२ रन जोडेको थियो।

आइतबार भएको खेलमा जिम्बावेका लागि २ ब्याट्सम्यानले शतक प्रहार गरे। सिकान्दर राजाले १ सय २३ रन जोडे। उनले ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे। सिकन्दरले ब्रेन्डर टेलरसँग पाँचौ विकेटका लागि १ सय ७३ रनको साझेदारी गरेका थिए। टेलरले पनि शतक प्रहार गरे। उनले ९१ बलमा १०० रन जोडे। दुवैलाई ४९ ओभरमा सोमपाल कामीले आउट गरेका थिए।

अाक्रमक सुरुवात गरेको जिम्बावेले ७ ओभरमै ७७ रन जोडेको थियो। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ८ ओभरको पहिलो बलमा ४१ रनमा आउट गरेपछि नेपाललाई केहि राहत मिलेको थियो। चेपासले २३ बलमा ३ चौका र ४ छक्का सहित ४१ रन जोडे।

हामिल्टन मासाकाट्जालाई बसन्त रेग्मीले १७ रनमा आउट गरे। बसन्तले महत्वपूर्ण विकेट लिने क्रममा ओपनर सोलोमन मिरेलाई आउट गरे। उनले ५२ रन जोडे। आउट हुनुअघि उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भए। ललितले क्राइग इर्भिनलाई ४२ रनमा आउट गरे।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। कप्तान पारसले ५ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन्।