पोखराको गोस्तेघाटमा बृहत् सफाइ अभियान

पोखरा, २०  फागुन 

पोखरामा जारी बृहत सफाइ अभियान वडा न. १६ अन्तर्गत सेती नदी किनारको गोस्तेघाटमा सम्पन्न भएको छ ।

हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा भन्ने उद्घोषका साथ संचालित ९२ औं श्रृंखलाको अभियानमा झण्डै ५ टन फोहरमैला संकलन गरिएको दीप युनाइटेड क्लबका अध्यक्ष मनकाजी गुरुङले जानकारी दिए । पोखरा नं. १६ वडा अध्यक्ष जीवन आचार्यले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

 

यसपटकको सफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा लेखनाथ महानगरपालिकाका सरसफाइ शाखाका फोहमैला व्यवस्थापन कर्मचारी, मुक्तिनाथ विकास बैंक, ओम डेभलपमेन्ट बैंक, दीप युनाइटेड क्लब, गोरखा फिटनेस ट्रेनिङ सेन्टर, ड्यामसाइड टोल विकास संस्था, अभियान क्लब महिला उपसमिति, माछापुच्छ्रे महिला क्लब, छन्त्याल युवा संघ, प्रगति बोर्डिङ स्कुल, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता लगायत स्थानीय गोस्तेघाटका बासिन्दाको उल्लेखनीय रहेको सहभागिता रहेको अभियन्ता एवं वडा नं. १६ का सदस्य राजेश गुरुङले बताए ।

९३ औं हप्ताको सफाइ अभियान वडा नं. १ को लालटिन बजारस्थित कसेरीघाटमा हुने जनाइएको छ ।