विश्वकप क्रिकेट छनौट : नेपालले अाज जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ,२० फागुन । आइसिसी एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा हुँदैछ। खेल जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा दिउँसो सवा एक बजेदेखि सुरु हुनेछ।

नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि आज जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ।

प्रतियोगिताअघि भएको वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो। वर्षाले प्रभावित खेल २९ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको युएईलाई १ सय ७१ रनमा रोक्ने क्रममा नेपालका लागि तीब्र गतिका बलर ललित भण्डारीले ४ विकेट लिँदा करण केसीले ३ र ललित राजवंशीले २ विकेट हात पारेका थिए। खेलमा नेपालले पहिलो रोजाइका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीलाई आराम दिएको थियो।

अफगानिस्तान विरुद्धको सिरिज गुमाएपनि जिम्बावेले नेपाल भन्दा बलियो टिम हो। त्यसैले जिम्बावे पहिलो खेलमा राम्रो सुरुवात गर्नेमा आत्मविश्वासी छ। आइसिसीले ‘नयाँ अफगानिस्तान’को संज्ञा दिएको नेपाल पनि प्रतियोगितामा स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम टिम हो। कप्तान पारस खड्काले आइसिसीलाई दिएको अन्तर्वार्तामा आश्चर्यजनक नतिजा निकाल्ने बताएका थिए। त्यो आश्चर्यजनक नजिता जिम्बावे विरुद्धको खेल पनि हुन सक्नेछ।