त्रिकोणात्मक सम्बन्धले शून्य चोरीशिकार

होमनाथ सापकोटा
चितवन, २० फागुन । निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धका कारण पछिल्ला वर्षमा निकुञ्जले शून्य चोरीशिकार वर्ष मनाउन सफल भएको संरक्षणकर्मीले बताएका छन् ।
तीन महत्वपूर्ण निकायका सार्थक सम्बन्धका कारण पछिल्ला वर्षमा चोरी शिकार घट्दै गएको भन्दै उनीहरुले निकुञ्ज, नेपाली सेना र समुदायबीचको त्रिकोणात्मक सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौली विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संरक्षणकर्मीहरुले निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धका कारण चितवन निकुञ्जले शून्य चोरीशिकार वर्ष मनाउन सफल भएको बताएका थिए । विगतका वर्षमा चोरीशिकारीको बिगबिगी भएका कारण चितवन निकुञ्जमा एक महिनामै १० वटासम्म गैंडा शिकारीले मारेको दुःखदायी अवस्था थियो ।
शिकारीले गैंडा मारेरै सिध्याउने अवस्था सृजना भएपछि निकुञ्जले संरक्षणको नीतिमा परिर्वतन गरी संरक्षणमा निकुञ्ज, नेपाली सेना र समुदायबीचको सम्बन्धलाई जोडेको थियो । त्रिकोणात्मक सम्बन्ध स्थापित भएपछि पछिल्लो समय निकुञ्जमा शिकारीले गैंडा मार्न सकेका छैनन् । नेपाली सेनाले निकुञ्ज भित्र गस्ती तथा निगरानी गर्ने, समुदायले मध्यवर्ती क्षेत्र भित्र चेतना फैलाउन र खबरदारी गर्ने तथा निकुञ्जले संरक्षणको काममा आवश्यक सहयोग गरेका कारण संरक्षणमा सफलता हात परेको छ । ‘संरक्षणका लागि यो त्रिकोणात्मक सम्बन्ध अनन्तकालसम्म जीवित रहन जरुरी छ’ निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत संरक्षणविद् रामप्रित यादवले भने, ‘त्यसो हुन सक्यो भनेमात्र हामीले वन्यजन्तुलाई जोगाउन सक्छौं ।’
त्रिकोणात्मक सम्बन्धका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले शून्य चोरीशिकार वर्ष मनाउन सुरू गरेको यादवले बताए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उनले बासस्थान विनास, चोरीशिकार र राज्यको कच्चा कानुनका कारण दुर्लभ वन्यजन्तुको प्रजाति लोप हुँदै गएको बताए । ‘पहिलो गैंडा ७ प्रजातिको थियो’ उनले भने, ‘हामीले जोगाउन नसकेका कारण अहिले गैंडाको ५ प्रजातिमा झरेको छ ।’ संरक्षणको अभावका कारण वन्यवन्तुमात्र होइन त्यसको प्रजाति मासिँदै गएको प्रति उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले संरक्षणमा आधारित संरक्षणले सार्थकता प्रदान गरेको बताए । ‘संरक्षणमा सफल हुनमा समुदायको भूमिका अहम् छ’ उनले भने, ‘तपाइँहरुकै कारण यहाँका वन्यजन्तु जोगिएका छन् ।’ शिकारीले गैंडा मारेको छैन भनेर अझै पनि ढुक्क भएर बस्ने अवस्था नरहेको भन्दै उनले सरोकारवाला सबै चनाखोसँगै खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए । समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलले संरक्षणमा समुदायको भूमिकालाई सरकारले आत्मसाथ गर्नुपर्ने बताइन् । संरक्षणमार्फत मुलुकको समृद्धि सम्भव रहेको भन्दै उनले यसको उपयोग गर्न जान्नुपर्ने विचार व्यक्त गरिन् । नेपालको जैविक विविधतालाई मुलुकको आर्थिक र सामाजिक विकाससँग जोड्नु पर्ने बताइन् । ‘जैविक विविधता नरहे मानव जीवन रहँदैन’ उनले भनिन्, ‘आफू बाच्नका लागि पनि प्रकृतिको संरक्षण गर्न जरुरी छ ।’ अन्तक्र्रिया सुरू हुनुपूर्व निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत आगन्तुक केन्द्रबाट चेनतामूलक ¥याली निकालिएको थियो । संरक्षणकर्मी, सौराहाका पयर्टन व्यवसायी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि सहभागी ¥यालीले सौराहा परिक्रममा गरेको थियो । ¥यालीपछि राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाको सभाहलमा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त प्रमुख रामकुमार अर्याल, तराई भूपरिधि कार्यक्रमका सहप्रबन्धक तिलक ढकाल, बेलशहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष टेकनाथ तिमिल्सेना, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, बर्ड एजुकेशन सोसाइटी चितवनकी अध्यक्ष सरस्वती सेढाई, सौराहा जेसीजका शिव भुषाल, समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान टिकौलीका अध्यक्ष सुरज कोइराला, संरक्षणकर्मी टीका गिरी, पत्रकार कोमलचन्द्र भगतलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम समुदायमा आधारित चोरीशिकार नियन्त्रण युवा जागरण अभियान उपसमिति बछौलीकी अध्यक्ष डोमा पौडेलको अध्यक्षतामा भएको थियो ।चितवन पोष्टमा खबरछ ।