युवा उद्यम विकास अन्तर्गत ५० जना युवाहरु स्वरोजगार

आनन्द पोखरेल
चितवन, १९ फागुन । चितवनमा युवा उद्यम विकास कार्यक्रम अन्तर्गत ५० जना युवाहरु व्यवसायमा संलग्न भएका छन् ।
जिल्ला युवा समितिको कार्यालय चितवनले युवाहरुलाई जीवन उपयोगी शिक्षा, स्वरोजगार, स्वास्थ्य र सामाजिक सुरक्षाको विषयमा तालिम दिँदै स्वरोजगार बन्न प्रेरित गरेको हो । कार्यालयले राष्ट्रिय युवा परिषद स्थापना दिवसको अवसरमा पारेर शनिबार भरतपुरमा पत्रकारसँग अन्तरक्रिया गर्दै व्युटिपार्लर, बाख्रा पालन, माछा पालन, सामुहिक तरकारी खेती, फेसमिट जस्ता विषयमा स्वरोजगार गराएको जनाएको छ ।
जिल्ला युवा समिति चितवनका कार्यालय प्रमुख भूमिलाल सुवेदीले विभिन्न तीन जना युवा उद्यमीलाई समेत यसै वर्ष सम्मान गरेको बताउनुभयो । युवाहरुलाई सवल, प्रतिस्पर्धी, आत्मनिर्भर, स्वरोजगार बनाउन आवश्यक पहल गर्दै हरेक पक्षमा युवाको सार्थक सहभागिता सुनिश्चित गराउँदै समृद्ध राष्ट्र निर्माण गर्न उत्प्रेरित गर्नु कार्यालयको उद्देश्य भएको सुवेदीले बताए ।