चितवनमा नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाको निर्माण कार्य अलपत्र

 

चितवन १९ फागुन । बजेट अभावमा चितवनमा चालू बृहत् सरकारी सिँचाइ पुनःस्थापना हस्तान्तरण व्यवस्थापन परियोजनाअन्तर्गत नारायणी लिफ्ट खगेरी सिँचाइ आयोजनाको निर्माण कार्य अलपत्र परेको छ । रू. ८४ करोड बजेट पारित गरिएको भए पनि अहिलेसम्म २० करोड मात्र निकासा हुँदा आयोजना अलपत्र परेको हो ।

आव २०७१/७२ बाट काम शुरू भए पनि अहिलेसम्म आधा कामसमेत नभएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, भरतपुरका सूचना अधिकारी इञ्जिनीयर भरतबहादुर थापाले बताए ।

उनका अनुसार परियोजनाको निर्माण अवधि आव २०७५/७६ मा सकिँदै छ । शहरी इलाकामा काम गर्दा आउने अवरोध, अतिक्रमण र टेण्डरमा आउने समस्याले गर्दा आयोजना अलपत्र परेको उनको भनाइ छ ।

यस आयोजना अन्तर्गत नारायणी लिफ्ट सिँचाइको बी नहरअन्तर्गत ४ हजार ७ सय हेक्टर बराबरको क्षेत्र पर्दछ । त्यस्तै, सी नहरअन्तर्गत ३ हजार ९ सय हेक्टर क्षेत्र पर्दछ । बी नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फूलबारीसम्मको जमीनमा सिँचाइ हुँदै आएको छ । सी नहरले बर्सेनी, भोजाड, टिकौली जङ्गलछेउ हुँदै गौरीगञ्जसम्म सिँचाइ पुगेको छ ।

सरकारले आयोजनाका लागि प्रत्येक वर्ष न्यून मात्रामा बजेट निकासा गर्दै आएकाले निर्माण लागतसमेत बढ्ने कार्यालयले बताएको छ । अहिलेसम्म सिभिल इञ्जिनीयरिङ र नहर लाइनिङको काम करीब ७५ प्रतिशत मात्र सम्पन्न भएको छ । नारायणी लिफ्ट सिँचाइका पम्पहरू पुराना र जीर्ण भएकाले नयाँ जडान गर्नुपर्ने इञ्जिनीयर थापाले बताए ।

यसका लागि ६० करोड रुपैयाँ पम्प खरीद गर्न लाग्ने कार्यालयले जानकारी दिएको छ । मेशिन, उपकरण, जनशक्तिमा भएको मूल्यवृद्धिका कारण आयोजना को निर्माण सम्पन्न गर्न बजेट थप गरी १ अर्ब ४७ करोड रुपैयाँ पु¥याउन माग गरिएको छ ।

बजेट निकासामा ढिलाइ नभए आयोजना सम्पन्न हुन २ देखि ३ वर्ष लाग्ने इञ्जिनीयर थापाले बताए । उक्त आयोजना सम्पन्न भएपछि १ लाख ५० हजार कृषक लाभान्वित हुनेछन् ।