पोखरामा २० लाख पर्यटक भित्राउन सकिने मुख्यमन्त्री गुरुङको दाबी

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा २० लाख पर्यटक भित्राउन सकिने दाबी गरेका छन्। पोखरालाई पर्यटनको हब बनाउन सके २० पर्यटकहरु भित्राउन कुनै समस्या नहुने गुरुङको कथन थियो। उनले भने, ‘पोखरालाई पर्यटनको हब बनाउन यहाँको ताल तलैयाको संरक्षण, अन्तराष्ट्रिय विमानस्थल निर्माण र पोखरासंग जोडिएका राजमार्गहरु ६ लेनको हुनुपर्छ।’

 

पोखरामा शुक्रबारदेखि शुरु नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ३४ औं अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। मुख्यमन्त्री गुरुङले ४ नं प्रदेशलाई शुन्दर, शान्त, सभ्य र समृद्ध बनाउने उद्घोष गरे।

 

समृद्धिका तीन आधार मानवीयता, राष्ट्रियता र सभ्यतालाई प्रदेश नं ४ मा अबलम्बन गरिने गुरुङले बताए। उनले भने, ‘अबको नारा मेरो देश, मेरो जनता हुनेछ।’ प्रदेश नं ४ मा औद्योगिकीरण र आन्तरिक राजश्व बृद्धिलाई मुख्य प्राथमिकतामा राख्ने उनको कथन थियो।

 

हाल प्रदेश सरकारले शून्यबाट काम गर्नुपरेको गुरुङको गुनासो थियो। ‘प्रदेश सरकारले शून्यबाट काम शुरु गर्नुपर्ने बाध्यात्मक स्थिति छ,’ उनले भने, ‘नीति छैन, कानून छैन, बजेट छैन। कृषि, शिक्षा, उद्योग, पर्यटन लगायतका क्षेत्रलाई समृद्ध बनाउन पहिले नीति र कानून बनाउनुपर्ने प्रदेश सरकारसंग चुनौति छ।