आफ्नै बाबुआमाको गोली हानी हत्या

मिचिगन,१९ फागुन ।  अमेरिकाको एक विश्वविद्यालयमा एक विद्यार्थीले आफ्नै बाबुआमाको गोली हानी हत्या गरेका छन्। मिचिगनको डेट्रोइटबाट २ घन्टाको दुरीमा रहेको सेन्ट्रल मिचिगन युनिभर्सिटीमा १९ वर्षिय जेम्स इरिक डाभिस जुनियरले आफ्नै बाबुआमाको गोली हानी हत्या गरेका हुन्।

टेलिभिजन स्टेसन डब्लुआइएलएक्सका अनुसार गोली प्रहारबाट ४७ वर्षीय डिभा डाभिस र ४८ वर्षीय इरिक डाभिसको घटनास्थलमै मृत्यु भएको थियो।

गर्मी बिदाका लागि छोरालाई लिन विद्यालय पुगेको बेला डाभिस दम्पतीलाई क्याम्पबेल हलको चौथों तलामा गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो घटना भएको अघिल्लो रात मात्रै डाभिस जुनियर लागुऔषध सेवनसम्बन्धी उपचारका लागि अस्पतालमा उपचाररत थिए।

मृतक डाभिस दम्पती सिकागोमा बस्दै आएका थिए। लिनोस प्रान्तका सांसद इमान्योल क्रिस वेल्कले ट्विट गर्दै डाभिस सिनीयर प्रहरीमा जागिरे रहेको बताएका छन्।

स्थानीय प्रहरीले भने मृतकहरु डाभिस जुनियरका बुवाआमा रहेको पुष्टि गरेको छैन। तर उनीहरु विश्वविद्यालयका प्रशाषक, कर्मचारी र विद्यार्थी कोहि पनि नरहेको बताएको छ।

गोली प्रहार गरेपछि फरार रहेका डाभिस जुनियरको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ। घटनापश्चात् डाभिस जुनियर विश्वविद्यालयको रेसिडेन्स हलबाट बाहिर निस्किएर रेलरोडतर्फ भागेको सिसिटिभी फुटेजमा देखिएको प्रहरी अधिकारी ल्यारी क्लाउसले बताए।

सो विश्वविद्यालयमा २० हजार विद्यार्थीहरु अध्ययन गर्दछन्। विद्यालय बन्दुक निषेधित क्षेत्र रहेकोले डाभिसले कसरी विद्यालयमा बन्दुक लान सके भन्ने तथ्य खुल्न सकेको छैन।

घटनापछि विद्यालयको पठनपाठन बन्द गरिएको छ।

Promise Education Consultancy