रेशम जेलमा नवराज खुलेआम संसदमा (फोटो फिचर )

काठमाडौँ,१९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका  पूर्व डीआइजी एवं सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् ।उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए ।

प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो ।भवनभित्र उनी एक्लै गएका थिए। संसद भवन छिर्नुअघि उनले हात हल्लाएका थिए। कोट, सर्ट, पाइन्ट र ढाका टोपीमा सजिएर उनी संसद भवन पुगेका थिए।पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्। एमाले अध्यक्ष एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रशिक्षणमुलक मन्तव्य दिने छन्।संघीय सांसदहरुको शपथ सोमबार हुँदैछ।

 

सिलवाल संसद भवन प्रवेश गरिरहँदा अर्का सांसद रेशम चौधरी भने हिरासतमा रहेका छन् । फागुन १४ गते जिल्ला अदालत कैलालीले टीकापुर घटनाको मुख्य अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले सोमबार चौधरीलाई थुनामा राखेर कारबाही प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

टीकापुर घटनाको झण्डै ३० महिनापछि अदालतमा आफूविरुद्ध दायर गरिएको मुद्दाको प्रतिवाद गर्न निवेदनसहित अभियुक्त चौधरी अदालतमा हाजिर भएपछि दिनभरी बयान र बहस भएको थियो ।

टीकापुर घटनापछि फरार अभियुक्त चौधरी फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएर कैलाली निर्वाचन क्षेत्र नं १ बाट अत्यधिक मतका साथ विजयी भएका थिए।

चुनावमा विजयी भए पनि उनले विजयीको प्रमाण पत्र बुझ्न सकेका छैनन्। थरुहट आन्दोलनका क्रममा २०७२ साल भदौ ७ गते भएको घटनामा आठ प्रहरी र एक नाबालकको ज्यान गएको थियो। रेशम त्यतिबेला थरुहट आन्दोलनको क्षेत्र नं १ का संयोजक थिए। उक्त घट्नापछि उनी फरार रहेका थिए।

Promise Education Consultancy