थरीथरी भाषामा शपथ लिने तयारीमा सांसद,९ सांसदले हिन्दी भाषामा शपथ लिँदै

काठमाडौँ,१९फागुन ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये ४२ ले मातृभाषामा शपथ लिँदै

प्रतिनिधिसभाका ३६ र राष्ट्रिय सभाका ६ गरी ४२ जना सांसदले नेपालीबाहेक विभिन्न मातृभाषामा शपथ लिने भएका छन् । संसद् सचिवालयले नेपालीबाहेकका भाषामा शपथ लिने सांसदलाई निवेदन दिन शुक्रबारसम्मको समय तोकेको थियो । आजको नयाँपत्रिका दैनिमा खबर छ। नेपाली भाषामा शपथ लिनेले भने निवेदन दिनु नपर्ने व्यवस्था छ । तोकिएको समयभित्र ४२ निवेदन परेका छन् । आइतबार सांसदहरूको शपथ हुँदै छ ।

सचिवालयमा प्राप्त निवेदनअनुसार मैथली भाषामा सबैभन्दा बढी १७ सांसदले शपथ लिने भएका छन् । जसमध्ये १३ प्रतिनिधिसभा र ४ राष्ट्रिय सभाका सदस्य छन् । त्यसबाहेक हिन्दीमा ९, भोजपुरीमा ५, थारूमा ३, मगरमा २, बज्जिकामा २ तथा उर्दू, तामाङ, नेवारी र अवधि भाषामा एक–एक सदस्यले शपथ लिनेछन् ।

९ सांसदले हिन्दी भाषामा शपथ लिँदै
नौ सांसदले हिन्दी भाषामा शपथ लिने भएका छन् । जसमध्ये प्रतिनिधिसभाका ८ र राष्ट्रिय सभाका १ सांसदले हिन्दी भाषामा शपथ लिनेछन् । हिन्दी भाषामा शपथ लिने प्रतिनिधिसभाका सांसदमा राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सरिता गिरी, प्रमोद शाह, चन्दा चौधरी, अमृता अग्रहरी र रानी मण्डल छन् । राष्ट्रिय सभाका सदस्य रमेश यादवले पनि हिन्दी भाषामा शपथ लिने भएका छन् ।

निवर्तमान सभामुखले मगर भाषामा शपथ लिँदै
निवर्तमान सभामुख ओनसरी घर्तीले मगर भाषामा शपथ लिने भएकी छिन् । उनीसँगै उनका श्रीमान् अर्थात् माओवादी नेता वर्षमान पुनले पनि मगर भाषामै शपथ लिने भएका छन् । उनीहरूले शुक्रबार संघीय संसद् सचिवालयमा पुगेर मगर भाषामा शपथ लिन नाम दर्ता गराएका हुन् ।

Promise Education Consultancy