अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै

राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, १८ फागुन। परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कञ्चनपुरमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।

रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘क’ु प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् ।

महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन्, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् ।

महिनाबारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्दछन् । त्यहाँ महिला पूरैभित्र सुत्न नसक्ने, ढोका नभएको छाप्रो हुने शुक्लाफाँटा महिला तथा बालबालिका विषयगत शाखाका प्रमुख राधिका पन्तले बताउनुभयो ।

छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उहाँले भन्नुभयो, “आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ ।”

यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको उहाँले बताउनुभयो । रासस

Promise Education Consultancy