आँपटारी–देवघाट सडक विस्तारका क्रममा अवरोध पु¥याउने रुखहरु काट्न वन कार्यालयको अनुमती

चितवन , १८ फागुन । आँपटारी–देवघाट सडक विस्तारका क्रममा अवरोध पु¥याउने रुखहरु काट्न वन, प्रशासन, महानगर लगायतको सरोकारवाला बैठकले अनुमति दिएको हो ।

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार आँपटारी–देवघाट सडक विस्तारको क्रममा अवरोध सिर्जना गरेका केही रुखहरु काट्न अनुमती दिएको बताए । बन कार्यालयले रुख काट्ने अनुमती दिएसंगै रोकिएको उक्त सडक विस्तारको काम अब अघि बढ्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुहुन्छ ।

भौतिक तथा यातायात मन्त्रालयले बजेट विनियोजन पनि गरिसकेको छ’ अध्यक्ष पौडेलले भने, ‘कामले अब तीव्रता पाउँछ , सडकमा परेका ५० भन्दा बढी विभिन्न प्रकारको रुखहरु काटिन सुरु भइसकेको छ ।’ आँपटारी देखि वागेश्वरीसम्म कुनै रुख पनि काट्न नपर्ने त्यसपछिको भागमा केही रुखहरु काट्नुपर्ने पौडेलले बताए । पौडेलका अनुसार आँपटारी देवघाट सडकको विस्तार गर्दा सबै भन्दा बढी रुख ढ्याग्रे खोलामा काटिने देखिएको छ ।

उक्त ठाउँमा कल्भर्ट हाल्न र रिटेनिङ वाल लगाउन पर्ने भएकाले यहाँ बढी रुख काटिन लागिएको र कल्भर्ट हाल्न र रिटेनिङ वाल लगाउन ५० लाख रकम विनियोजन गरिएको उनलेे बताए । चितवन तर्फबाट धार्मिक स्थल देवघाट जाने चार सडकमध्ये भक्तजनहरु सबै भन्दा आँपटारी–देवघाट सडक मार्ग प्रयोग गर्छन् ।

पूर्व पश्चिम राजमार्गबाट आएका भक्तजनहरु यहीं सडकबाट पवित्र धार्मिक स्थल देवघाट पुग्ने गर्छन् । तर, देवघाट पुग्नै आँपटारीको सडक साँघुरो भएकोले देवघाट क्षेत्र विकास समितिले यो सडकलाई दुई लेनको बनाउने प्रक्रियालाई अघि बढाएको थियो तर, जिल्ला वन कार्यालयले सडक विस्तारको क्रममा अवरोध गर्ने रुखहरु काट्ने अनुमति नदिँदा देवघाट क्षेत्र विकास समितीले विस्तारको प्रक्रिया अघि बढाउन पाएको थिएन । अहिले बनले अनुमती दिएसँगै सो सडक दुई लेनको बनाउने प्रक्रिया अघि बढेको छ ।