प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई छैन आवास

जनकपुरधाम, १७ फागुन । प्रदेश २ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई आवास नहुँदा आ–आफ्ना घर फर्केका छन् । पदभार ग्रहणलगतै नवनियुक्त मन्त्री र राज्यमन्त्री गृहजिल्ला गएका हुन् । होली पर्वका कारण प्रदेश २ मा बिहीबारदेखि शनिबारसम्म कार्यालय बन्द हुने भएपछि आइतबार मात्र आवासको व्यवस्था हुने एक कर्मचारीले बताए । सामाजिक विकासमन्त्री नलवकिशोर साह पदभार ग्रहणपछि गृहजिल्ला सप्तरी प्रथान गरे ।

कृषिमन्त्री शैलेन्द्र साह पनि पदभार ग्रहणपछि गृहजिल्ला सप्तरी नै गए । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको घर जनकपुरमै रहेकाले उनी जनकपुरै छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय पनि बिहीबार गृहजिल्ला सर्लाही जाने कार्यक्रम छ । राज्यमन्त्रीहरू उषा यादव गृहजिल्ला बारा, योगेन्द्र यादव गृहजिल्ला रौतहट र सरोजकुमार सिंह महोत्तरी प्रथान गरे ।

लगातार तीन दिन छुट्टी हुने भएपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पनि बुधबार नै गृहजिल्ला पर्सा गएका छन् । मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मित्रका अनुसार होलीमा बिदा हुने भएकाले मुख्यमन्त्री र मन्त्रीहरू घर गएका हुन् । भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल पनि गृहजिल्ला बारा गएका छन् । मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले बुधबार थप चार मन्त्री र तीन राज्यमन्त्री थपेका थिए ।आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

के–के निर्णय गरे नयाँ मन्त्रीले ?
अन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सुरक्षा निकाय प्रमुखसँग सुरक्षासम्बन्धी जानकारी लिए । त्यसपछि मन्त्रालयको प्रवक्तामा सुरक्षा महाशाखाका उपसचिव अर्जुन शर्मालाई नियुक्त गरिएको निर्णयमा हस्ताक्षर गरे ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले बालबालिकालाई नियमित विद्यालय ल्याउने गरी कार्ययोजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरे । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले मन्त्रालयसँग सम्बन्धित कार्यालयलाई प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्ने विषयमा कार्ययोजना बनाउने निर्णयमा हस्ताक्षर गरे ।

कृषिमन्त्री शैलेन्द्र साहले कृषिसँग सम्बन्धित पसल तथा उद्योगको अनुगमन गर्ने निर्णयमा हस्ताक्षर गरे । त्यसको सुरुवात जनकपुरबाटै गर्ने निर्णय भएको मन्त्री साहले बताए ।

तीन भाषामा शपथ
संघीय फोरमका तर्फबाट मन्त्री भएका ज्ञानेन्द्रकुमार यादव र शैलेन्द्र साहले मैथिलीमा शपथ लिए । राजपाबाट मन्त्री भएका नवलकिशोर साह र रामनरेश रायले हिन्दीमा शपथ लिए छन् । त्यसैगरी, राज्यमन्त्री योगेन्द्र यादव र सरोजकुमार सिंहले मैथिली र उषा यादवले भोजपुरीमा शपथ लिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

Promise Education Consultancy