होलीमा नारायणगढ–मुग्लिन सडक दुई दिन चौबिसै घण्टा खुल्ला

चितवन, १६ फागुन । नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने भएको छ ।
नेपालीहरुको महान् चाड होली पर्व २०७४ लाई मध्यनजर गरि भोली फागुन १७ र पर्सी १८ गते दुई दिन नारायणगढ–मुग्लिङ बन्द नहुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार यस सडक खण्डमा सवारी आवागमन बन्द नभई सुचारु रहने भन्ने व्यहोरा जानकारीको लागि अनुरोध गरेको बताए ।
रातिको समयमा छ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड भोलीदेखि दुई दिन खुला रहने समेत सबैमा उनले जानकारी गराए ।
होली पर्व देशैभरिबाट आउने जाने क्रम हुने भएकाले दुई दिनलाई सडक खुला गरिएको हो । ट्राफिक प्रहरीले आज सार्वजनिक सूचना जारी गरी सो जानकारी दिएको हो ।
यस सडकमा अहिलेसम्म ७४ प्रतिशत मात्रै काम पूरा भएको आयोजनाका प्रमुख चन्द्रनारायण यादवले बताए ।