रत्ननगरमा प्रशासकीय, आर्थिक र शिक्षा कार्यविधि पारित

चितवन, १६ फागुन । रत्ननगर नगरपालिकाको बुधवार सम्पन्न दोश्रो नगर सभाले तीनवटा महत्वपूर्ण विधेयक पारित गरेको छ ।
नगरपालिकाका हिउदे नगर सभाले नगरपालिका सञ्चालन सम्बन्धी तीन वटा विधेयक पारित गरेको हो । नगर सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, आर्थिक कार्यविधिलाई नियमित तथा व्यवस्था गर्ने विधेयक र शिक्षा विधेयक पारित गरेको मेयर नारायण वनले जानकारी दिए ।
विधेयक पारित भएसंग नगरपालिकालाई विकास निर्माण,शिक्षा,स्वास्थ्य,पर्यटन र कृषिको क्षेत्रमा काम गर्ने बाटो खुल्ला भएको छ । नगर सभाले विकास निर्माणलाई प्राथमिकता दिँदै १५ बुँदे कार्ययोजना पारित गरेको छ ।

नगर सभा सम्पन्न भए लगतै नगरपालिकाले बुधवार नै पत्रकार सम्मेलनको आयोजना गरी नगर सभाले गरेको निर्णय सार्वजनिक गरेको हो । नगरपालिकाले पूर्वाधार विकासका योजनालाई स्माटसिटीको अवधारणलाई आत्मसाथ गरी काम गर्ने निर्णय गरेको छ । रत्ननगर नगरपालिकालाई स्माट सिटीको रुपमा विकास गर्ने योजना अनुसार विकास निर्माणको कामलाई स्माट सिटीको अबधारण अनुसार गर्ने निर्णय गरिएको मेयर वनले बनाए ।