जब बेहुला रित्तै घर फर्केपछि……

काठमाडौँ,१६ फागुन। मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ ।

महोत्तरीको लोहरपट्टी नगरपालिका –८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेशकुमार यादवको छोरी बबिता यादवसँग दुई महिनाअघि नै विवाहको छिनोफानो भयो ।

बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिनाअगाडि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए ।

विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन् । आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियाे ।

११ फागुनकाे राति ९ बजे बेहुला पक्ष जन्तिसहित बेहुलीको घरमा पुग्याे । बेहुली पक्षले आफ्नो हैसियत अनुसार जन्तिलाई स्वागत सत्कारमा कमी गरेन । सार्वजनिक रुपमै बेहुला बेहुलीको स्वयम्वर भयो ।

सोही राति हिन्दूसंस्कारअनुसार विवाह सम्पन्न भयो ।

मिथिलामा विवाह सम्पन्न भएकै राति केटीपक्षका महिलाले बेहुलालाई विभिन्न प्रश्न साेधेर हाँस–परिहाँस गर्दै रमाइलो गर्ने चलन छ ।

त्यही रमाइलो गर्ने क्रममा स्थानीय महिलारूले बेहुलासँग दुई वटा प्रश्न गरे । तर बेहुलाले उनीहरुको प्रश्नको जवाफ दिन सकेनन् वा जवाफ दिन उचित ठानेनन् ।

त्यही विषयलाई लिएर बेहुली पक्षले बेहुला मानसिक रूपमा ठीक नरहेको भन्दै बेहुली लैजान नदिने बताएपछि अाराेप–प्रत्याराेप सुरू भयाे ।

सोही क्रममा स्थानीयले जन्तिहरूलाई कुटपिटसमेत गरेको लोहरपट्टी नगरपालिका बगरा गाउँका जयशंकर यादवले बताए ।

यता, बेहुला पक्षले आज बेहुली पक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएकाे छ । बहुली पक्षले आफ्नो सामाजिक प्रतिस्ठामा अाँच पुर्याएकाे तथा ठगी गरेको निवेदनमा उल्लेख गरेकाे छ ।

नयाँ पत्रिकासँग कुरा गर्दै बेहुला दिपेश यादवले भने, ‘लाखौँ खर्च भयो, केही पैसा साहुमहाजनसँग ऋण पनि लिएको छु । तर, बेहुली पक्षबाट गलत आरोप लगाएर हाम्रो सामाजिक प्रतिष्ठा हनन गर्ने काम भयाे ।’

उनले आफू शारीरिक तथा मानसिक रूमा पूर्णस्वस्थ रहेकाे भन्दै अनाहकमा आरोप लगाएर अपमान गरेको बताए ।

विवाह हुनुभन्दा अघि नै बेहुलीकी आमा, नातेदारलगायतले आफूसँग पटक–पटक कुराकानी गरेको भन्दै उनले भने, ‘यस्तो घटनामा केटीपक्ष पीडित भएकाे भए आज विभिन्न अधिकारवादी संघसंस्थाले अावाज उठाउँथे । तर मेरो सन्दर्भमा सबै किन चुप छन् ?’

यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले छलफलका लागि दुवैपक्षलाई २० गते बोलाएको छ ।अाजको नयाँ पत्रिकामा खबर छ ।