चैत्रको पहिलो हप्ताभित्रै एकता घोषणा गर्छौंः उपाध्यक्ष रावल

काठमाडौं,१५ फाागुन ।   एमालेका उपाध्यक्ष भीम रावलले चैत्रको पहिलो हप्ताभित्रै एमाले–माओवादी केन्द्रबीच एकता घोषणा हुने बताएका छन् ।

उनले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लाग्ने भन्दै चैत्रको पहिलो हप्ताभित्रै एकता घोषणा हुने बताएका हुन् । मंगलबार(आज) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने बताए ।

‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं,’ उनले भने ‘अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेका छौं।’

रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने भन्दै आईतबारसम्म उपेन्द्र यादवसमेत मन्त्रिमण्डलमा सहभागी हुने दाबी गरे ।

त्यस्तै उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको भन्दै माओवादी केन्द्रसँग छलफल गरेर अन्तिम टुँगो लागाउने बताए ।