घरको भुइँतलामा रहेका बालकमाथि चितुवाको आक्रमण

बैतडी,१५ फागुन ।  बैतडीमा सोमबार राति नरभक्षी चितुवाले एक बालकलाई आक्रमण गरेको छ। आक्रमणमा परी मेलौली नगरपालिका–९, रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेशबहादुर चन्द गम्भीर घाइते भएका बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

घरकै भुइँतलाको भान्छा कोठामा रहेका बालकमाथि चितुवाले आक्रमण गरेको हो। चितुवाको आक्रमणले चन्दको आँखा, टाउको र गालामा गहिरो घाउ रहेको छ। घाइते बालकलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि आज बिहान सेती अञ्चल अस्पताल, धनगढी रिफर गरिएको छ।

६ वर्षयता चितुवाले आक्रमण गरी त्यस क्षेत्रका २३ जनाको ज्यान लिइसकेको छ। केही समय चितुवाले मानिसलाई आक्रमण नगरेको भए पनि फेरि आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका वीरेन्द्र महताले जानकारी दिए।

चितुवा नियन्त्रणका लागि पटक–पटक प्रहरी परिचालन गरिए पनि सफलता भने हात नलागेको प्रशासनले जनाएको छ। त्यस क्षेत्रमा चितुवाले बालबालिका र महिलालाई बढी आक्रमण गर्ने गरेको छ। यसअघि गत भदौमा पनि एक महिलालाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो।रासस