यसकारण पाएन मन्त्रिपरिषद्ले पूर्णता

काठमाडौँ,१५ फागुन ।

फोरमलाई पनि ल्याएर दुईतिहाइ बहुमतको सरकार बनाउने तयारी

प्रधानमन्त्री केपी ओलीले सोमबार चार मन्त्री नियुक्त गर्दै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादी केन्द्रबाट १५ मन्त्रीलाई एकैपटक शपथ खुवाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी भने लम्बिएको छ ।

एमालेबाट आठ तथा माओवादीका सातजना मन्त्री नियुक्त गरेर पूर्णता दिने योजनामा प्रधानमन्त्री थिए । तर, संघीय समाजवादी फोरमले पनि सोमबार सरकारमा सहभागी हुने संकेत गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी धकेलिएको हो । फोरमलाई परराष्ट्रसहित अर्को एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री ओली छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा फोरम अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सोमबारको छलफल सकारात्मक दिशामा अघि बढेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।आजको नयाँपत्रिका दैनिकमा खबर छ ।