गैँडाकोटमा फागुन २१ देखी अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला हुने ।

 

राजन खरेल

गैँडाकोट, १४ फागुन । “धेरै हेरीयो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला” भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोटमा पहिलो पटक अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला २०७४ हुन लागेको छ । सांस्कृतिक विविधताको आदान प्रदान र प्रचार प्रसारले नेपालको पर्यटनको विकासमा महत्वपूर्ण योगदान पू¥याउने विश्वासका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको आयोजना गरेको हो ।

मेलामा बंगलादेश, कोष्टारिका, ग्रिस, स्टोनिया, नेपाल, भारत, इन्डोनेशिया, ईजरायल, इटली, मलेसिया र टर्की गरि ११ देशका २०० भन्दा बढि कलाकार र नेपालका थुप्रै चर्चित कलाकारको सहभागीता रहने आयोजकले जनाएको छ । यही फागुन १८ गते काठमाण्डौमा उद्घाटन भई भक्तपुर, धादिङ्ग हुँदै २१ गते गैंडाकोटमा आएर समापन गर्ने तालिका बनाइएको मेला आयोजक समितिका निर्देशक दुर्गा रायमाझीले जानकारी दिनुभयो ।

मेलाको सह–आयोजक सहयात्रा नेपालका अध्यक्ष समेत रहनु भएका रायमाझीले प्राकृतिक दृष्टिकोणले आकर्षक रहेको गैंडाकोटको नारायणी किनारमा हुन लागेको मेलाले गैंडाकोट—चितवन क्षेत्रको पर्यटन विकासमा कोसेढुंगा सावित हुने बताउनु भयो ।

मेला आयोजना गर्न स्थानीय जनप्रतिनिधिसहितका सरोकारवालाहरुको उल्लेख्य सहयोग रहेको मेलाका स्थानीय संयोजक दिपक खड्काले जानकारी दिनुभयो । आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले अहिले सम्म करिव ६५ भन्दा बढि देशमा नेपालको लोक संस्कृती प्रस्तुत गरिसकेको छ ।

यस्ता अन्तर्राष्ट्रिय मेलाले सांस्कृतिक कार्यक्रमको आदानप्रदान र देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम भएको संयोजक रायमाझीले  बताउनु भयो । सरकारका तर्फबाट समेत यस्ता कार्यक्रमहरुको प्रोत्साहनमा सहयोग हुनुपर्नेमा अहिलेसम्म नभएको गुनासो लोक स्रष्टासमेत रहेका कलाकार रायमाझीको छ ।