बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन

काठमाडौँ,१३ फागुन । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन।

श्री अम्मा एङ्गर अयप्पन श्रीदेवी खास नाम भएकी उनले बलिउड प्रवेश गर्नुअघि तमिल, तेलेगु, मल्यालम तथा कन्नड भाषाका फिल्ममा काम गर्थिन्। सन् १९७५ मा बलिउडमा बाल कलाकारका रूपमा प्रवेश गरेकी श्रीदेवी १३ वर्षको उमेरमा तमिल भाषाको ‘मुनरूदु मुडिचु’ फिल्म व्यस्क भूमिकामा काम गरेकी थिइन्। श्रीदेवी भारतकी सर्वाधिक ठूलो महिला स्टार मध्येकी एक हुन्।