पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै ६० हजार असुल्ने पक्राउ

काठमाडौं १२ फागुन ।  पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै ६० हजार रुपैयाँ असुल्ने व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले काभ्रेका राजु लामालाई बिहिबार पक्राउ गरेको हो।

उनले चोरी मुद्दामा पक्राउ परेका एक व्यक्तिलाई छुटाइदिने भन्दै ६० हजार रुपैयाँ लिएका थिए। चोरीको सात तोला सुनसहित प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेकोमा उनलाई छुटाइदिने भन्दै पैसा लिएका थिए।

पछि अभियुक्त नछुटेपछि उनी टाढा टाढा हुँदै गएका थिए। त्यसपछि पैसा दिने व्यक्तिले प्रहरीलाई भनेपछि रहस्य खुलेको हो। लामाले प्रहरी चिनेको छु भन्दै झुक्याएर ठगी गरेका थिए। ६० हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ।

लामालाई ठगी मुद्दामा कारबाही अघि बढाइएको महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले बताए।