आन्तरीक राजस्व कार्यालय भरतपुरको चालु आवमा १० अर्ब बढि राजस्व संकलन

चितवन,११ माघ । आन्तरीक राजस्व कार्यालय भरतपुरमा यस आर्थिक बर्षमा १० अर्ब बढि राजस्व संकलन भएका छन् । आव०७४/७५ मा ७ हजार बढि करदाता थपिएका कारण १० बर्ष बढि राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ । चालु आवको माघ मसान्तसम्म ७ हजार १ सय ७७ जना करदाता थपिएका हुन् ।

कार्यालयका अनुसार चितवन र नवलपुल जिल्लाबाट गरि हालसम्म ८६ हजार ३ सय २० जनाले पान नम्बर लिएका छन् । यसमध्ये ७४ हजार ५५ जना करदाता मात्रै सक्रिय रहेको आन्तरीक राजस्व कार्यालय भरतपुरले जनाएको छ । सक्रिय करदाताहरुमा ४३ हजार ९ सय ६६ जनाले व्यवसायीक पान नम्बर लिएका छन् भने ३० हजार ८९ जनाले व्यक्तिगत पान नम्बर लिएका छन् । सक्रिय व्यवसायीक पान नम्बर लिने करदाताभित्र भ्याटका ६ हजार ८ सय ७२ जना, शिक्षाका २१ सय ८० जना, अन्तशुल्कका ४ हजार ३ सय २० जना र स्वास्थ्य सेवाका २ सय ३२ जना करदाता समावेश छन् । कार्यालयले दिएको तथ्यांक अनुसार १२ हजार २ सय ६५ जना करदाता निश्क्रिय अर्थात व्यवसाय बन्द गरेका छन् । चालु आवको ७ महिनाको अवधिमा कार्यालयले १० अर्ब ६६ करोड ५१ लाख २५ हजार रुपैंया राजस्व संकलन गरेको छ । लक्ष्य भन्दा ७ प्रतिशत बढि राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए ।

गत आव भन्दा यस आवमा ३२ प्रतिशत राजस्व बढि संकलन भएको आन्तरीक राजस्व कार्यालय भरतपुरका सुचना अधिकारी पौडेलको भनाइ छ । आर्थिक बर्ष ०७३÷७४ को ७ महिनाको अवधिमा ८ अर्ब ६ करोड ८३ लाख ९ हजार रुपैंया राजस्व संकलन भएको थियो । यस आवको हाल सम्म आयकर ७७ करोड ५५ लाख ६६ हजार रुपैंया, अन्तशुल्क ९ अर्ब ५ करोड ५९ लाख रुपैंया र भ्याट आन्तरिकबाट ६३ करोड ९७ लाख ४४ हजार रुपैंया राजस्व संकलन भएको छ ।