वैदेशिक रोजगारीमा ज्यादती उस्तै

काठमाडौँ,११ फागुन।  गाउँमा कमाउने उपाय नभेटेपछि दाङ, गोलटाकुरी–७ का सुन्दरलाल चौधरीले एकमात्र उपाय देखे– वैदेशिक रोजगारी । विगतमा दुईपटक गइसकेका ३६ वर्षीय चौधरीका लागि तेस्रोपटक विदेश पस्नु गाह्रो र नौलो थिएन।

वैदेशिक रोजगारीको अनुभव बटुलिसकेका चौधरीले तेस्रोपटक विदेशको कमाइले घरको आर्थिक अवस्था सुधार गर्ने योजना बुनेका थिए । राजधानीको लालधनुष मेनपावरलाई राहदानी बुझाएर सोसियल मेनपावरमार्फत साउदी उडेका चौधरीको सपना केही समयमै तुहियो । साउदी पुगेकै केही समयपछि रोजगारदाता कम्पनीले चित्त नबुझेको भन्दै चौधरीलाई घर फिर्ता गर्यो । कुनै कारण नबताई रोजगारदाताले फिर्ता गरेपछि उनको मानसिक सन्तुलन गुमेको छ।

रोजगारीका लागि कतार गएका पति गणेश नेपाली तीन दिनमै फर्केपछि कास्की, सराङकोटकी गीतालाई यतिखेर के गरौं र कसो गरौं भइरहेको छ । मेनपावरलाई एक लाख २० हजार रुपैयाँ बुझाएर कतार उडेका पति शरीरमा चोट बोकेर घाइते अवस्थामा फर्केपछि गीता तनावमा परेकी हुन्।वैदेशिक रोजगारीमा गएर भविष्य उज्ज्वल बनाउने आसमा रहेका कैयौंको अवस्था चौधरी र नेपालीको जस्तै छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भनेर पटकपटक भएका प्रयास र छलफलबाट अझै कुनै उपलब्धि हासिल भएको छैन।नागरिक दैनिकमा खबर छ।