सानिमा बैंकद्वारा सन्दीप लामिछानेलाई साढे ९ लाखको प्रायोजन

काठमाडौं,१० फागुन । राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछानेलाई सानिमा बैंकले दुई वर्षको प्रायोजन सम्झौता गरेको छ।

यसअघि पनि २ वर्षको प्रायोजना गरेको सानिमाले सन्दीपसँग थप २ वर्षको सम्झौता गरिएको हो। यसअघि मासिक २० हजार रुपैयाँको प्रायोजन गरेको सानिमाले शतप्रतिशत बढाउँदै मासिक ४० हजार रुपैयाँ प्रायोजन गर्ने भएको हो। जसअनुसार २ वर्षको जम्मा रकम ९ लाख ६० हजार रुपैयाँ हुन्छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सन्दीप र सानिमा बैंकका सिइओ भुवनकुमार दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे। कार्यक्रममा सन्दीपले यसअघिको प्रायोजनले हौसला मिलेको बताउँदै सम्झौता बढाएकोमा धन्यवाद दिए। उनले आफ्नो खेलमार्फत देशको नाम सधैं उच्च राख्ने समेत बताए।

कार्यक्रममा बैंकले सन्दीप र नेपाली टिमका कप्तान पारस खड्कालाई सम्मान गरेको थियो। गत साता नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा शीर्ष २ रहेर विश्वकप छनोट प्रतियोगिताका लागि छानिएकोमा बैंकले सम्मान गरेको हो। डिभिजन–२ मा सन्दीपले सबैभन्दा बढी विकेट र पारसले सबैभन्दा बढ रन बनाएका थिए। दुवै जनालाई हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले मायाको चिनो दिँदै सम्मान गरेका थिए। आचार्य र श्रेष्ठले नेपाली क्रिकेट खेलाडीले देशको नाम उचो राखेको भन्दै धन्यवाद दिए।

यता बिहीबार नै राष्ट्रिय टिमका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई ग्लोबल आइएमई बैंकले मासिक २० हजारका दर २ वर्षको प्रायोजन गरेको छ। दुवै खेलाडीलाई प्रायोजन गराउनका लागि क्रिकेट खेलाडी संघ नेपालले पहल गरेको हो।