आगलागीबाट घर नष्ट भएपछि पर्वतका विपन्न परिवार विस्थापित

पर्वत,१०फागुन । पर्वतको जलजला गाउँपालिका–७, धाइरिङ किराखोरमा भएको आगलागीबाट एक विपन्न परिवारको घर जलेर नष्ट भएको छ।

स्थानीय गम्बरबहादुर नेपालीको घर र गोठ जलेर सखाप भएको हो। पीडित नेपालीको परिवार अहिले छिमेकीको घरमा अश्रय लिएर बसेको छ। आगलागीबाट करिब रु ६ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ। आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका नेपाली परिवारलाई सहयोगको खाँचो रहेको स्थानीय हरिप्रसाद आचार्यले बताए।

आगलागीबाट नेपालीको घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ता कपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको छ।

यसैबीच, पीडित परिवारलाई स्थानीयवासी खेमबहादुर केसीले रु २५ हजार बराबरको सामग्री सहयोग गरेका छन्। धाइरिङ सल्यान घर भई हाल बेनीबजारको कालीपुलका व्यवसायी तथा समाजसेवामा सक्रिय केसीले आगलागीबाट पीडित बनेका नेपालीको परिवारलाई बुधबार दुई थान त्रिपाल, एक बण्डल जस्तापाता, दुई बोरा चामल, चाउचाउ, भूजा र पाँच पोका तोरीको तेल गरी करिब रु २५ हजार बराबरको सामग्री सहयोग गरेका हुन्।रासस

Promise Education Consultancy