सन्दिप र राजु चितवनमा सम्मानित

 सुशिल पन्त 

चितवन, ९ फागुन । इन्डियन प्रिमियर लिग आईपिएल  लागि दिल्ली डेयर डेभिल्समा आबद्द भएका नेपाली युवा क्रकेटर सन्दिप लामिछाने नगद २० हजार सहित र प्रशिक्षक राजु खड्का नगद १० हजार सहित चितवनमा सम्मानित भएका छन ।

आज भरतपुरमा चितवन क्रिकेट संघद्वारा आयोजित एक सम्मान समारोहमा युवा क्रिकेटर सन्दिप र उनका प्रशिक्षक सम्मानित भएका हुन ।

आईपियलको अक्सन मार्फत सन्दिपलाई दिल्लीले २० लाख भारतीय रुपैँयामा किनेको थियो । ईतिहास रच्दै सन्दिप आईपियल खेल्ने पहिलो नेपाली क्रिकेटर बन्न सफल भएका हुन ।

त्यस अघी केही नेपाली क्रिकेटर आईपियलको ट्रायलका लागि बोलाईए पनि कुनै पनि नेपाली खेलाडीले आईपियलको ढोका खोल्न सकेका थिएनन ।

आफ्नो उत्कृष्ट बलिङ क्षेमताको कारण आईपियलमा छनौट हुँदै नेपालको नाम विश्वभर चिनाउन सफल भएको भन्दै सन्दिपलाई सम्मान गरिएको चितवन क्रिकेट संघका सदस्य तथा सम्मान कार्यक्रमका संयोजक अनिल अधिकारी बताउनु भयो ।

यस्तै हालै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा पनि सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए जुन बिपक्षी खेलाडीलाई टाउको दुखाई बनेको थियो ।

सन्दिपले डिभिजन २ को ५ खेलमा कुल १७ विकेट लिदै प्लेयर अफ दि सिरिज घोषित भएका थिए । सन २००० अगस्ट २ मा स्याङ्जामा जन्मियका सन्दिपले २०१६ अप्रिल १६ मा नामिबिया बिरुद्ध भएको आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ को खेलबाट राष्ट्रिय सिनियर टोलिबाट डेब्यु गरेका थिए । त्यस पश्चात छोटो समयमा नै सन्दिपले ठुलो सफलता हात परेका छन ।

सम्मान कार्यक्रममा बोल्दै युवा लेग स्पिनर सन्दिपले सम्पूर्ण नेपालीको साथ, माया र हौसलाकै कारण आफुले यो सफलता हात पारेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । आफ्नो क्रिकेट करीयर चितवनबाटै सुरु भएको भन्दै सन्दिपले चितवनको क्रिकेटमा पनि ठुलो सम्भावना रहेको बताएका छन । साथै उनले क्रिकेटमै भविष्य बनाउन चाहने आफु जस्ता खेलाडीहरुको लागि उचित खेल मैदान नभएकोमा भने दुस्ख लागेको समेत बताएका छन । आईपियलका लागि छनौट हुनु आँफैमा सफलता भए पनि अब थप चुनौती थपिएको सन्दिपको भनाई रहेको छ ।

यसै सम्मान ग्रहण गर्दै प्रशिक्षक राजु खड्काले सन्दिपले नेपाल र नेपालीको शिर उच्च पारेको भन्दै खुशी ब्यक्त गर्नुभएको छ । खड्का तिनै प्रशिक्षक हुन जसले सन्दिपको प्रतिभा पहिचान गरी उनलाई चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण गराउनुभएको थियो ।

एकेडेमीमा सन्दिपको पहिलो दिन सम्झदै खड्काले भन्नुभयो ”पहिलो दिन नै सन्दिपले मेरो पाउ छोयर मलाई गुरु मानेको थियो, त्यही बेला नै उसको अनुशासन देखेर म प्रभावित भएको थिए र उसले क्रिकेटमा राष्ट्रको लागि केही गरेर देखाँउछ भन्ने लागेको थियो, अहिले त्यो कुरा वास्तबिक्तामा परीणत भयो । एउटा प्रशिक्षकलाई यो भन्दा ठुलो खुशीको कुरा के हुन सक्छ र ।”

तर खड्काले एउटा व्यवस्थित खेल मैदान नहुँदा भने दुस्ख लाग्ने गरेको गुनासो समेत पोख्नुभयो । ”यसरी क्रिकेटको माध्यमबाट देशको शिर उच्च बनाएका सन्दिप भोलीका दिन चितवन आउँदा कहाँ अभ्यास गराउने, खेल मैदान छैन ।

क्याम्पा चौरमा त्यही एउटा अभ्यास गर्ने नेट छ त्यही पनि कहिले कुन खेल कहिले कुन खेलले गर्दा अभ्यास गर्न पाईदैन ।’खड्काले व्यवस्थित मैदानको हुने हो भने सन्दिप जस्ता प्रतिभावान खेलाडीहरु चितवन जिल्लाले उत्पादन गर्न सक्ने दाबी गर्नुभयो ।

चितवन जिल्ला क्रिकेट संघका सदस्य तथा सम्मान समारोहका संयोजक अनिल अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघका सचिव उमेस पियाले स्वागत मन्तब्य तथा चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष राजु गुप्ताले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।