चितवनमा भित्रियो जिपिएक्स रेसिङ बाइक

चितवन, ९ फागुन । काठमाडौ र नेपालगञ्ज पछाडि चितवनमा समेत जिपिएक्स रेसिङ बाइकको बिक्री सुरु गरिएको छ । थाइल्याण्डमा निर्माण भएको जिपिएक्स ब्राण्डको बाइक विगत तीन वर्षदेखि नेपालमा बिक्री वितरण हुँदै आएको छ ।
चितवनमा भरतपुर ओरालोमा रहेको मौलाकालिका कम्पनीले प्रालिले बुधबारदेखि जिपिएक्स रेसिङ ब्राण्डको मोटरसाइकल बिक्री शुभारम्भ गरेको हो । सुरुमा लिजेन्ड, जेन्टलम्यान र डोमोन्ड तीन वटा मोडलको मोटरसाइकल बिक्रीको लागि राखिएको भएपनि निकट भविष्यमा नै जिपिएक्स ब्राण्डको स्कुटर समेत बिक्री गरिने कम्पनीका सञ्चालक विकासमान श्रेष्ठले बताए । बुधबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले शोरुमको उद्घाटन गरेका हुन् ।
युवा वर्गलाई मध्यनजर गर्दै मोटरसाइकलको शोरुम सञ्चालन गरिएकोले उक्त बाइकले छिट्टै नै युवाहरुको मन जित्न सफल हुने प्रधानका भनाइ थियो । लिजेन्ड दुई सय सिसि क्षमताको बाइकको मूल्य तीन लाख ७३ हजार सात सय रुपैयाँ, जेन्टलम्यान दुई सय सिसिको बाइकको तीन लाख ९३ हजार सात सय रुपैयाँ र डोमोन्ड एक सय ५० सिसिको तीन लाख २३ हजार सात सय रुपैयाँ मूल्य रहेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
जिपिएक्स रेसिङ बाइकको नेपालको लागि आधिकारिक बिक्रेता ओमेगो अटोमोबाइल्सका अध्यक्ष दिपक शर्माले आधुनिक प्रविधिको जडान गरि मोटरसाइकल निर्माण भएकोले छोटो समयमा नै ग्रहाकको मन जित्न सफल भएको बताए । कावासाकीको प्रोमोटेड कम्पनी भएकाले यो बाइकको नेपाली बजारमा माग बढ्दै गएको शर्माले बताए । बाइकले ३५ देखि ४५ किलोमिटरसम्म माइलेज दिने शर्माको भनाइ थियो ।