ओली र प्रचण्डबीचको वार्ता निष्कर्षविहीन,माओवादी केन्द्र आज सरकारमा सहभागी नहुने

काठमाडौँ, ९ फागुन । नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा आज सहभागी नहुने भएको छ। आज हुने भनिएको मन्त्रिपरिषद् विस्तार पर्याप्त गृहकार्य नपुगेको भन्दै भोलिका लागि सारिएको छ।

मन्त्रालय बाँडफाँट र सरकार विस्तारका लागि आज बिहान बालुवाटारमा बसेको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलले ठोस निष्कर्ष निकाल्न सकेन। एकै पटक सरकारलाई पूर्णता दिने वा तत्कालका लागि केही सदस्य थपेर मन्त्रिमण्डल विस्तार गर्ने भन्ने विषयमा दुवै नेताबीच छलफल भएको थियो।

ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार विहान ‘वान टु वान’ वार्ता भएको थियो । वार्तापछि दुवै नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास समेत पुगेका थिए ।

शितलनिवासमा राष्ट्रपतिसँगको छलफलमा मन्त्री मण्डल कति सदस्यीय राख्ने र कुन मन्त्रालय राख्ने भन्ने विषय उठेपछि मन्त्री मण्डल विस्तार तत्काललाई केही दिन थाती राख्ने निचोडमा दुई नेता पुगेका हुन् ।

संविधानमा २५ सदस्यीय मन्त्री मण्डल बनाउन सकिने व्यवस्था छ । ओली र प्रचण्ड भने १८ सदस्यीय भन्दा बढीको मन्त्री मण्डल बनाउन नहुनेमा छन् ।