‘सामुदायिक र संस्थागत विद्यालय साझोदारी गर्दै अगाडि बढ्नुपर्छ’

चितवन, ७ फागुन । सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जोड दिएकी छिन् ।
सामुदायिक विद्यालयमा सरकारले लगानी गरेपनि शैक्षिक गुणस्तर वृद्धि नभएको भन्दै एक अर्काको ज्ञानलाई साटासाट गर्दै शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने दाहालको भनाइ थियो । नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन चितवनको वार्षीक साधारणसभाको उद्घाटन गर्दै दाहालले शैक्षिक क्षेत्रमा परिवर्तन ल्याउन साझा दृष्टिकोण तयार गर्नुपर्ने बताएकी हुन् । शिक्षा नीति, योजना, कार्यक्रमका बारेमा छलफल गरि ठोस निर्णय बनाउन महानगर तयार रहेको भन्दै शिक्षा नीति निर्माणको लागि छलफल आवश्यक रहेको दाहालले बताइन् ।
प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले केन्द्रीय शिक्षा समिति, प्रदेश शिक्षा समिति, जिल्ला शिक्षा समिति र स्थानीय तहका शिक्षा समितिमा प्याब्सनको आधिकारिक संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई आरक्षित कोटामा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था सामाजिक न्यायको विरुद्धमा भएको अधिकारीले उल्लेख गरे । संस्थागत विद्यालयमा छात्रवृत्ति पाएर अध्ययन गर्ने १० प्रतिशत गरिब, दलित जनजाति, अपाङ्ग, सिमान्तकृत समुदायका छात्रछात्रा र मेधावी विद्यार्थी समेत उक्त प्रतिस्पर्धाबाट बाहिर रहनुले सामाजिक दायित्वको समेत उपहास भएको अधिकारीले बताए ।
यस्ता असमानताहरु खारेज गरि समान प्रतिस्पर्धाको अवसरहरु उपलब्ध गराउन समेत अधिकारीले माग गरे । चितवनका एक सय ७१ वटा संस्थागत विद्यालयमा करिब ७५ हजार विद्यार्थीहरु अध्ययनरत छन् । चितवनका निजी विद्यालयमा चार हजारको हाराहारीमा शिक्षक तथा कर्मचारीले प्रत्यक्ष रुपमा रोजगार पएका अधिकारीको भनाइ छ । चितवनमा ख वर्गका करिब १० वटा र बाँकी ग वर्गका संस्थागत विद्यालयहरु रहेका छन् ।