ट्राफिक सचेतनामूलक गीतको म्युजिक भिडियो सार्वजनिक

चितवन, ७ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले रचना गरेको ट्राफिक सचेतना सम्बन्धी गीतको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको छ ।
पन्तले रचना गरेको ‘ट्राफिक नियम पालना गरौँ….’ बोलको म्युजिक भिडियो चितवन क्षेत्र नम्बर २, क का प्रदेशसभा सदस्य विजय सुवेदीले सार्वजनिक गरेका हुन् । म्युजिक भिडियो लोकार्पण गर्दै लोकार्पण गरिएको गीतले जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । समाजमा दिन प्रतिदिन दुर्घटनाको दर बढ्दै गएको बखतमा ट्राफिक सचेतनामूलक गीत निकाल्नु आफैमा राम्रो पक्ष भएको सुवेदीले बताए ।
म्युजिक भिडियो लोकार्पण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापालगायतको सहभागिता रहेको थियो । ‘ट्राफिक नियम पालना गरौँ….’ बोलको गीतमा नेत्रजी पन्त र सुमन थापामगरको स्वर रहेको छ भने म्युजिक भिडियोमा नेत्रजी पन्त, निखिल विसी, मालती तामाङ, संगीता शर्माको अभिनय रहेको छ ।
सत्यम् फिल्मस् प्रालिका सञ्जिव कुमार श्रेष्ठले निर्देशन तथा सम्पादन गरेको म्युजिक भिडियोको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले निर्माण तथा ग्लोबल मेट्रो सिटी बस प्रालि र चित्रवन ट्याक्सी तथा मझौला यातायात समितिले निर्माणमा सहयोग गरेका प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।