खनालद्वारा ११ मिनेटमा पाँच सय पटक सिटअप

चितवन, ७ फागुन । सिट अप व्यायमबाट गिनिज बुक अफ वल्ड रेकर्डस्मा नाम दर्ता गराउने तयारीमा रहेका ६१ वर्षीय रामचन्द्र खनालले सिटअप व्यायम प्रदर्शन गरेका छन् ।

६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति चितवनको आयोजनामा खनालले व्यायम प्रदर्शन गरेका हुन् । खनालले करिब ११ मिनेटमा पाँच सय पटक सिटअप गरेका थिए । सोमबार बिहान खनालले भरतपुरको गेष्ट हाउस चौरमा सिटअप प्रदर्शन गरेका हुन् ।

खनालले सिटअपमा विभिन्न १० वटा राष्ट्रिय किर्तिमानी राखेका छन् । राष्ट्रिय किर्तिमानीसँगै अन्तर्राष्ट्रिय रुपमा नै एक घण्टामा सबैभन्दा बढी पटक सिटअप गर्ने भन्दै उनी गिनिज बुक अफ वल्ड रेकर्डस्मा नाम दर्ता गराउने प्रकृयामा रहेका छन् । कृषि विकास बैंकका पूर्व कर्मचारी समेत रहेका पाल्पाका खनालले एक घण्टामा दुई हजार छ सय २५ पटक सिटअप गरेका भन्दै युवा तथा खेलकुद मन्त्रालयले किर्तिमानी प्रमाणपत्र समेत प्रदान गरेको छ ।

नियमित रुपमा सिटअप गर्दा मधुमेह, उच्च रक्तचापजस्ता रोगहरु समेत निको भएकोले सबैलाई उक्त व्यायम गर्न प्रेरणा दिने उद्देश्यले आफूले सिटअपको प्रदर्शन गरेको खनालको भनाइ छ ।