एक करोडको लगानीमा डि’मामा गरम मसला

आनन्द पोखरेल
चितवन, ०७ फागुन । नारायणगढको पुलचोकमा रहेको मामा तास घरले भरतपुर चौबिसकोठीमा समेत आफ्नो शाखा सञ्चालनमा ल्याउने भएको छ ।

करिब एक करोड रुपैयाँको लगानीमा सञ्चालन गरिएको डि’मामा गरम मसलाको मंगलबार उद्घाटन गरिने भएको हो । २२ वर्षदेखि चितवन र नवलपरासीका तासका पारखीहरुलाई सेवा प्रदान गर्दै आएको मामा तास घरले आफ्नो पहिलो शाखाको रुपमा चौबिसकोठीमा डि’मामा गरम मसला सञ्चालनमा ल्याएको हो । सोमबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सञ्चालक सुरज पौडेलले डि’मामा ब्राण्डमा चार वटा होटल सञ्चालन रहेको र निकट भविष्यमा नै रिसोर्ट समेत सञ्चालनमा ल्याउने तयारी भएको बताए ।

नौ वर्ष अष्ट्रेलियामा बसेर होटल म्यानेजमेन्ट पढेका सुरजले त्यहाँको सीपलाई आफ्ना दाजुहरुसँग चितवनमा प्रयोग गर्न लागेको बताए । डि’मामा ग्रुपले चाँडै नै काठमाडौँमा समेत शाखा खोल्ने तयारी गरेको उल्लेख गर्दै मामा तास घरका सञ्चालक सन्तोष पौडेलले आफूहरुले करिब ५० जनालाई प्रत्यक्ष रोजगार दिएको र आफ्नो सबै व्यवसायमा करिब तीन करोड रुपैयाँ लगानी भएको बताए । मंगलबारदेखि सञ्चालनमा आउने डि’मामा गरम मसलामा विशेष गरि तास र नेपाली खाना पाइने छ ।

स्थानीयताको महसुस गर्दै मानिसलाई ताजा खुवाउने उद्देश्यले स्थापना गरिएको डि’मामा गरम मसलामा चाइनिज र इण्डियन खानाका प्रकारहरु समेत उपलब्ध गराइने सञ्चालक सुरज पौडेलले बताए । उक्त गरम मसलामा दुई खाना खानको लागि सामान्य हलका साथै दुई वटा विशेष हल समेत रहेको छ । पहिलो तल्लामा सय जना क्षमता भएको एसी हल रहेको उल्लेख गर्दै पौडेलले होटलको तेस्रो तल्लामा ६० जना क्षमता भएको एसी हल भएको जानकारी दिए । दुई वटा हल विशेष गरि पारिवारिक समारोहका लागि उपयुक्त हुने उल्लेख गर्दै पौडेलले होटलमा पूर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गरिने बताए ।