प्याब्सनको वार्षिक साधारणसभा भोलि

चितवन, ०६ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) चितवनको वार्षिक साधारणसभाको तयारी पुरा भएको छ ।

प्याब्सन चितवनको सोमबार बिहान ११ भजे भरतपुरको क्षेत्रपुरमा रहेको रामेश्वर पुस्तकालयमा हुने वार्षिक साधारणसभाको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गर्ने भएकी छिन् । साधारणसभाको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै प्याब्सन चितवनका अध्यक्ष देशबन्धु अधिकारीले केन्द्रीय शिक्षा समिति, प्रदेश शिक्षा समिति, जिल्ला शिक्षा समिति र स्थानीय तहका शिक्षा समितिमा प्याब्सनको आधिकारिक संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए । संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई आरक्षित कोटामा प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था सामाजिक न्यायको विरुद्धमा भएको अधिकारीले उल्लेख गरे ।

संस्थागत विद्यालयमा छात्रवृत्ति पाएर अध्ययन गर्ने १० प्रतिशत गरिब, दलित जनजाति, अपाङ्ग, सिमान्तकृत समुदायका छात्रछात्रा र मेधावी विद्यार्थी समेत उक्त प्रतिस्पर्धाबाट बाहिर रहनुले सामाजिक दायित्वको समेत उपहास भएको अधिकारीले बताए । यस्ता असमानताहरु खारेज गरि समान प्रतिस्पर्धाको अवसरहरु उपलब्ध गराउन समेत अधिकारीले माग गरे ।

चितवनका एक सय ७१ वटा संस्थागत विद्यालयमा करिब ७५ हजार विद्यार्थीहरु अध्ययनरत छन् । चितवनका निजी विद्यालयमा चार हजारको हाराहारीमा शिक्षक तथा कर्मचारीले प्रत्यक्ष रुपमा रोजगार पएका अधिकारीको भनाइ छ । चितवनमा ख वर्गका करिब १० वटा र बाँकी ग वर्गका संस्थागत विद्यालयहरु रहेका छन् ।