प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेतामा सर्वसहमत चयन

काठमाडौं, ६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई दलको नेतामा सर्वसहमत चयन गरेको हो ।

बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकता, सरकार गठनलगायत समसामयिक विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताका बारेमा ब्रिफिङ गरेका थिए ।

एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने र भ्याएमा एकता संयोजन समिति बैठक बस्ने जानकारी उनले बैठकमा राखेका थिए ।
अध्यक्ष प्रचण्डले माओवादी परम्परवादी संसदीय दल नभएको, अरु देशका संसदीय व्यवस्था र हाम्रो संसदीय व्यवस्था फरक रहेकोले समाजवादी समाज र समृद्ध नेपालका पक्षमा संसदमा भूमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिए । अध्यक्ष प्रचण्डले संसदीय मोर्चालाई समेत युद्दकै एउटा स्वरुपका रुपमा लिएर भूमिका खेल्नु जोड दिए। “यो जनताका पक्षमा रक्तापातविहिन युद्द हो, यसलाई खाली परम्परावादी संसदको रुपमा नलिनुहोला, जनताले हामीबाट परिवर्तनका पक्षमा धेरै आशा गरेका छन्, त्यही अनुरुप भूमिका निर्वाह गर्नुहोला ।” अध्यक्ष प्रचण्डले भने ।

Promise Education Consultancy