नारायणी नदी किनारमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव, १० राष्ट्रका कलाकार आउने

नवलपुर, ६ फागुन।विदेशी कलाकारलाई नेपाल ल्याउने वातावरण बनाउन पहिलो पटक ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव’को अयोजना गरिने भएको छ।

नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा फागुन २१ गतेदेखि आयोजना हुने सो महोत्सवमा नेपालसहित इटाली, ग्रीस, इजरायल, कोस्टारिका, बंगलादेश, भारत, मलेसिया, इण्डोनेसिया गरी १० राष्ट्रका कलाकारहरुले आफ्ना मौलिक संस्कृति प्रस्तुत गर्ने छन्।

विदेशी कलाकारलाई नेपाल भित्र्याउने, नेपालको कला संस्कृतिलाई देश विदेशमा पुर्याउने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सव गर्न लागिएको आयोजक कल्चर मिडिया हाउसले जनाएको छ।

नेपाली मौलिक संस्कृति विदेशी कलाकारमार्फत विश्वभर फैलाउने र विदेशी मौलिक संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालमा नौलो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा लोक गायक दीपक खड्काले जानकारी दिए।

नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि कार्यक्रम महत्वपूर्ण रहने आयोजकले विश्वास लिएको छ। मगर, गुरुङ, थारु, तामाङलगायत नेपालका विभिन्न जातजातिका मौलिक संस्कृतिलाई महोत्सवमा समावेश गरिने छ।

‘विश्वको सबैभन्दा उत्कृष्ट संस्कृति नेपालको भए पनि हामीले यसको प्रचारप्रसार गर्न सकीरहेका छैनौँ।’,कार्यक्रम संयोजक खड्काले भने,‘यस वर्ष देश विदेशका लोक मौलिक संस्कृति आदानप्रदान प्रयासमा हामी जुटेका छौं।’

महोत्सवमा ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। रासस

Promise Education Consultancy