आगलागीबाट एकको मृत्यु, एक घाइते

काठमाडौं,५ फागुन । आज बिहान काठमाडौंको लगनचोकमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ। घटनामा एक घाइते भएका छन्।

आगोमा जलेर जीवनकाजी श्रेष्ठको मृत्यु भएको हो। उनका छोरा प्रवीण श्रेष्ठ सामान्य घाइते भएका छन्। जीवनकाजी प्लारालाइसिसका रोगी भएकाले भाग्न नसक्दा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घरको तेस्रो तलामा उनी हिटर बालेर सुतेका थिए। प्रारम्भिक अनुसन्धानमा हिटरबाटै आगो सल्किएको हुन सक्ने देखिएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकानन्द लिम्बुले बताए।

बिहान करिब साढे ३ बजे लागेको आगो सवा ७ बजे मात्र नियन्त्रणमा आएको थियो। आगलागीबाट दुई घर जलेर नष्ट भएका छन्। अष्टनारायण महर्जन र अमृतलाल रञजितको घर जलेको हो। आगोमा दुई वटा ग्यासका सिलिण्डर समेत पड्किएपछि लगनटोल क्षेत्रमा भागाभाग र कोलाहल मच्चिएको थियो।

८ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको डिएसपी लिम्बुले बताए।