राष्ट्रपति, मन्त्रीदेखि नियुक्तिसम्म प्याकेजमै सहमति गरी सरकारमा जान्छौं : प्रचण्ड (भिडियोसहित)

 

काठमाडौं, ४ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राष्ट्रपति, मन्त्रीदेखि ठूला नियुक्तिमा प्याकेजमै समझदारी गरेर सरकारमा जाने बताउनुभएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि पहिलो पटक विस्तार भएको मन्त्रीमण्डलमा माओवादी सहभागी नहुँदा प्रश्न उठेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘पार्टी एकतामा ठूलो सदस्य आएको होइन । राष्ट्रपति, मन्त्री र ठूला नियुक्ति र सरकारका काम सम्बन्धी विषयमा एकैचोटी समझदारी बनाएर दृढताका साथ अगाडि बढ्छौं ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठनको ५ औं राष्ट्रीय सम्मेलनमा अध्यक्ष प्रचण्डको सम्बोधन

Publié par National Hero Comrade Prachanda राष्ट्रनायक क. प्रचण्ड sur vendredi 16 février 2018

 

 

पार्टी एकतामा सकारात्मक कुरा भइरहेको उहाँले बताउनुभयो । एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वाम गठबन्धनले ७० वर्षपछि राजनीतिक स्थायित्व, समृद्धि, सुधार र समाजवादको यात्रा तय गरेको बताउनुभयो ।

शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारबारे सम्मेलनबाट सुझाव दिन प्रचण्डले निर्देशन दिनुभयो । ‘हिजोका कमजोर सरकारले गर्न नसकेका काम हामी गर्न चाहन्छौं,’ उहाँले भन्नुभयो, ‘सम्मेलनबाट शिक्षा क्षेत्रमा गर्नुपर्ने कामको निचोड र सुझाव सुत्रवद्ध रुपमा प्रस्तुत गर्नुहोला । सुझावलाई पार्टी र सरकारका तर्फबाट गुणात्मक रुपमा सम्बोधन गर्छौ ।’ वाम गठबन्धनको झण्डै दुईतिहाई बहुमत आएको बताउनुहुँदै प्रचण्डले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाउने काम सरकारले गर्ने बताउनुभयो ।

‘जनताको चाहना अनुसारको शिक्षा दिन अनुसन्धानका कार्यक्रम गर्न बजेट छुट्याउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बेरोजगार उत्पादन गर्ने सैद्धान्तिक शिक्षालाई परिमार्जन गरेर शिक्षालाई जीवनोपयोगी, उत्पादनमूलक र रोजगारीमूलक बनाउनुपर्छ ।’

व्यवसायिक हित र समुदायको समृद्धिका शिक्षा आवश्यक पर्ने बताउनुहुँदै प्रचण्डले स्थायित्व र समृद्धिको यात्रा शिक्षा क्षेत्रबाटै सुरु गरिने बताउनुभयो । ‘शिक्षकका समस्या समाधान र शिक्षामा रहेको बेलगाम निजीकरणलाई नियन्त्रण गर्ने नीति सरकारले ल्याउने छ,’ उहाँले भन्नुभयो ।