ट्राफिक सचेतनाको लागि सडकमा “डमी प्रहरी”

आनन्द पोखरेल
चितवन, ४ फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक सचेतना अभिवृद्धिको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।
सडक शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा लागू गर्न सकेमा दुर्घटना न्यूनिकरण हुने भन्दै ट्राफिक प्रहरीले सडकको छेउमा काल्पनिक ट्राफिक प्रहरी बनाएर राखेको छ । भरतपुरको चौबिसकोठी चोकमा महिला ट्राफिक प्रहरी र पुरुष ट्राफिक प्रहरीको डमी निर्माण गरेर राखिएको हो । सडक शिक्षा दिनको लागि विभिन्न उपायहरु अबलम्बन गर्नका लागि डमी राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।
टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले सवारी चालकले आफ्नो सवारी साधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना हुने सम्भावना कम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । नजिकै पुगेपछि ट्राफिक सन्देश राखेको बोर्ड देख्ने हुनाले त्यो सन्देश सबैले पढ्ने र सचेतना बढ्ने पन्थको भनाइ थियो । सवारीको चाप बढी हुने ठाउँमा डमी राख्दा दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको बुझाइ छ ।
भरतपुरको चौबिसकोठीमा राखिएको डमी विस्तारै अन्य मुख्य सडकमा समेत राख्ने तयारी छ । एउटा डमी किनेर ट्राफिक प्रहरीको स्वरुप दिनको लागि करिब १५ हजार रुपैयाँ खर्च हुने भएकाले अन्य ठाउँमा राख्नको लागि आर्थिक समस्या रहेको ट्राफिक प्रहरीको भनाइ छ ।