दृष्टिबिहीन एकाइलाई आर्थिक सहयोग

आनन्द पोखरेल
चितवन, २ फागुन । रामेश्वरी हेल्पिङ ह्याण्ड फाउन्डेशनले भरतपुरको नारायणी नमुना माविका दृष्टिबिहीन विद्यार्थीहरुको अक्षयकोष निर्माणार्थ आर्थिक सहयोग गरेको छ ।
दृष्टिबिहीन विद्यार्थीहरुको पठनपाठनमा प्रयोग हुने गरि निर्माण गर्न लागिएको अक्षयकोषमा जम्मा हुने गरि फाउन्डेशलने एक लाख रुपैयाँ विद्यालयलाई प्रदान गरेको हो । विद्यालयमा कार्यक्रम गर्दै फाउण्डेशनका सदस्यहरु प्रमोद लेखक, खडिया सियटन, नागेन क्षेत्री, रोशनी श्रेष्ठ शेरचन, रचना श्रेष्ठ, लैला श्रेष्ठ लगायतले विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीलाई रकम प्रदान गरेका हुन् । नारायणी नमुना माध्यमिक विद्यालयमा ५६ सालमा स्थापना भएको दृष्टिबिहीन एकाइबाट हालसम्म २७ जना विद्यार्थीले एसएलसी तथा एसईई परीक्षा पास गरिसकेका छन् ।
देशका विभिन्न जिल्लाबाट आएका दृष्टिबिहीन विद्यार्थीहरु आवासीय रुपमा विद्यालयमा बस्दै आएका विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले बताए । विभिन्न व्यक्तिहरुको सहयोगका कारण विद्यालयको दृष्टिबिहीन एकाइ सञ्चालन भएको तथा केही रुपमा सरकारी तवरबाट समेत आर्थिक सहयोग आएको दवाडीले बताए ।
विद्यालयले स्थापना गर्न लागेको दृष्टिबिहीन अक्षयकोषका लागि यस अगाडि एक लाख १० हजार रुपैयाँ संकलन भइसकेको दृष्टिबिहीन एकाइ सञ्चालक समितिकी सदस्य छाया श्रेष्ठले जानकारी दिइन् । हाल उक्त विद्यालयमा ब्रेल कक्षादेखि कक्षा १० सम्म अध्ययन गर्ने २९ जना दृष्टिबिहीन विद्यार्थीहरु रहेका छन् ।
रकम हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले सरकारले दृष्टिबिहीन विद्यार्थीहरुको सीप र क्षमताको कदर गर्नुपर्ने बताए । विभिन्न व्यक्तिको सहयोगमा स्थापना गर्न लागिएको अक्षयकोषबाट केही वर्षपछि दृष्टिबिहीन विद्यार्थीहरुको पढाईमा सहयोग हुने थापाको भनाइ थियो ।